पाकिस्तानमा बाढीपछि डेङ्गीको महामारी



पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी दिएका छन् । जुन महिनाको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म करिब १५०० जनाको मृत्यु र ३३ लाख मानिस प्रभावित भएका छन् ।

देशका विभिन्न भागहरूमा बाढी पीडितको उद्धार र निकासीको प्रयास जारी रहँदा त्यहाँका स्वास्थ्य विज्ञहरूले डेङ्गी, औलो र गम्भीर ग्यास्ट्रिक सङ्क्रमण दर बढेको विवरणहरू दिएका छन् ।


अधिकांश विस्थापित मानिसहरू जमेको पानीको छेउछाउमा आश्रय लिइरहेका छन्। उनीहरूमध्ये केहीको डेङ्गी ज्वरोका कारण निधन भइसकेको छ र हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

दक्षिणी सिन्ध प्रान्तका स्वास्थ्य अधिकारीहरूले करिब ३ हजार ८३० मानिसहरूमा डेङ्गीको ज्वरो आएको विवरण पेस गरेका छन्।

उनीहरूमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ। तर यो अनुमान मात्र हुन सक्ने चिन्ताहरू व्यक्त गरिएका छन् । बाढी आएको दुई महिनाभन्दा लामो समय बित्दा पनि पाकिस्तानभरि हजारौँ गाउँहरू अझै डुबानमा छन्। जसका कारण असङ्ख्य परिवारहरू विस्थापित भएका छन् ।