पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । एनडीएमएले बिहीबार राति सार्वजनिक गरेको एक रिपोर्टअनुसार बाढीका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी कम्तीमा १५ जना बालबालिका र छ जना महिलाको मृत्यु भएको छ ।
देशको दक्षिणी सिन्ध प्रान्तमा ३५ जनाको मृत्यु भएको छ भने उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाइका छन् । पाकिस्तानका विभिन्न भागमा यो अवधिमा २६ हजार ६५२ घर नष्ट हुनुका साथै एक हजार ५२१ पशुचौपाया मरेका छन् ।
पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण जुन महिनाको मध्यदेखि अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३९१ पुगेको छ भने १२ हजार ७२२ जना घाइते भएका छन् । यसबाहेक १७ लाख ३९ हजार १६६ घर नष्ट भएका छन् भने सात लाख ५४ हजार ७०८ पशुचौपाया वर्षाका कारण मरेका छन् ।
एनडीएमएका अनुसार एक लाख ७७ हजार २६५ जनालाई उद्धार गरिएको छ भने छ लाख ६३ हजार ८ सय ६९ जना अहिले शिविरमा बसिरहेका छन् । बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवक र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी राखिएको छ ।