पाकिस्तानमा बर्षाजन्य घटनामा परी १२ हजार घाइते



पाकिस्तानमा बर्षाजन्य घटनामा परी १२ हजारभन्दा बढी घाइते भएका छन् ।  सरकारी अधिकारीहरूले सोमबार राती दिएको जानकारी अनुसार पछिल्लो समयमा आएको वर्षापछिको घटनामा परी १२ हजार ७४२ जना घाइते भएका हुन् ।  घटनामा परी अहिलेसम्म कुल एक हजार ४२७ को मृत्यु भएको पनि पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।   

पाकिस्तानमा गत मध्य जुनदेखि आएको मनसुनपछिका घटनाबाट अनपेक्षित रुपमा धेरै क्षति भएको प्राधिकरणको भनाई छ ।  बाढी पहिरोका कारण मृत्यु भएका मध्ये ५१० जना बालबालिका रहेका छन् भने २८७ जना महिला रहेका छन् । देशभरका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो ।  बाढी पहिरोले सबैभन्दा बढी क्षति सिन्ध प्रान्तमा गरेको छ । त्यस क्षेत्रमा मात्रै अहिलेसम्म ५९४ जनाको मृत्यु भएको पुष्टि भएको छ । 


पछिल्लो मनसुनका घटनाका कारण १७ लाख ५० हजार ८२८ घर क्षतिग्रस्त भएका छन् । त्यसैगरी आठ लाख ८३ हजार २६८ जनावर मरेका छन् । वर्षापछिको घटनाका कारण १३ हजार ३८३ किलोमिटर सडक भत्किएको छ भने ३९० पुल भाँचिएका छन् ।   प्राधिकरणका अनुसार अहिले पाँच लाख ४१ हजार ४० जना विस्थापित भएर अस्थायी शिविरमा बसिरहेका छन् । 

बाढी पहिरोबाट पीडित भएका मध्ये एक लाख ७९ हजार २१८ मानिसको उद्धार गरिएको पनि प्राधिकरणका अधिकारीहरूले जनाएका छन् ।  बाढी पहिरोबाट प्रभावित भएकाहरूलाई खोजी, उद्धार तथा राहतका लागि प्राधिकरणका अधिकारीहरू, स्वयंसेवक, गैरसरकारी संघ संस्थाका पदाधिकारीलगायत अहिले पनि खटिएका छन् ।