पथरीमा कर अधिकृत नहुँदा सेवाग्राहीलाई सास्ती



माेरङ । आन्तरिक राजस्व कार्यालय विराटनगरअन्तर्गत करदाता सेवा कार्यालय पथरी मोरङमा कर अधिकृत नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । अधिकृत नहुँदा कर चुक्ता, दुईटा आईडीद्वारा हुने काम, फाइल ट्रान्फर, कारोबार थपघटलगायतका कारोबार बन्द भएको छ ।

पथरी शाखामा गत साउन २४ गतेदेखि कर अधिकृत नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नु परेको सेवा दिन बसेका परामर्श दाता सुजन कार्कीले बताउनुभयो । साउन सुरु भएसँगै कर चुक्ता निकाल्ने र कारोबार थपघट गर्नेको घुइँचो लाग्ने गरेको छ । कर अधिकृत नभएसँगै अधिकृत नहुँदा रु पाँच सय खर्च गरेर दिनै मायामारी ५० किलोमिटर धाएर विराटनगर पुग्नुपर्ने सेवाग्राहीहरु बताउँछन् ।


बैंकमा ऋण नवीकरण गर्न कर चुक्ताको प्रमाणपत्र लिन तीन दिन धाउँदा पनि नपाएको सेवाग्राही बताउँछन् । कर अधिकृत सुस्मिता दाहाल साउन २४ गते सरुवा भएसँगै पथरी शाखामा समस्या सुरु भएको देवेन्द्र धिमालले बताए । करदाता सेवा कार्यलय पथरीमा दैनिक ४०/५० जना सेवाग्राहीले सेवा पाउँदै आएको कर्मचारी शेखर ओलीले जानकारी दिए ।