नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो



काठमाडौँ । केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागी भएर बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार काठमाडौं फर्किएको हो ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीबिरुद्धको ५ खेलको ट्वान्टी–२० श्रृंखला ३–२ ले जितेको थियो ।


यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो । भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिए । ।

एक दिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हालेका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा दिनमा मध्यम अवस्थामा बलिङ र ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताए ।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेश अनुसारको टोलीमा आवद्ध हुनेछन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ भने पुरुष क्रिकेट भने भदौ २३ गतेबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ ।