बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–१ मा रहेको ओखरिया इन्टेक पर्यटकको रोजाइमा परेको छ । सो क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताए।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाउँपालिका–१ मा रहेको सो ठाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएपछि स्थानीय खुसी हुन थालेका छन् ।
पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ स्थानीय सरकारले विभिन्न संरचना निर्माणका काम थालेसँगै त्यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको हो । कर्णाली नदीको मनोरम दृश्य, डाँडाकाँडा, शान्त वातावरणको गेरुवा र राजापुर क्षेत्रमा लाग्ने पानीको मुख्य मुहान नै ओखरिया हो ।
अचेल बर्दिया, बाँके, कैलालीलगायतका जिल्लाबाट यो मौसममा घुम्न आउने पर्यटकको लर्को लागेको छ । ओखरियाका बारेमा सुनेपछि यहाँँ आएको र यहाँको वातवरणले मोहित पारेको बारबर्दिया मगरागाडीका पतिराम थारु बताए।
बजारको कोलाहलबाट एक दिन भएपनि शान्त वातावरणको खोजी गर्दै यहाँ घुम्न आएको पर्यटक बताउँछन् । यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्नु खुशीको विषय भएको र यसको व्यवस्थापकीय विकास तथा पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्नुपर्ने गेरुवा गाउँपालिका–१ का पूर्व वडाध्यक्ष दयाराम थारुको भनाइ छ ।
अहिले आन्तरिक पर्यटक मात्र आउने जाने गरे पनि यो क्षेत्रको प्रचारप्रसार हुन र आवश्यक पूर्वाधारको निर्माण गर्नसके समग्र भौरा टप्पु विकासमा यो क्षेत्र महत्वपूर्ण हुने उनको भनाइ छ । कर्णाली नदीको दृश्यका साथै चुरे पहाड सहजै देख्न सकिने यस क्षेत्रमा अहिले उद्यान र ट्री हाउस निर्माण गरिएको छ ।
आगामी दिनमा कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्ने पालिकाको तयारी छ । ओखरिया इन्टेक क्षेत्रको व्यापक प्रचारप्रसार गर्न आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनसके यस क्षेत्रका बासिन्दाको जीवनस्तर माथि उठ्ने गाउँपालिका अध्यक्ष केसी बताए ।