ज्योतिषको लाइसेन्सको व्यवस्था गर्न परिषद्सँग परामर्श लिने



काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले देशभरका ज्योतिषलाई लाइसेन्स प्रदान गर्नका लागि ज्योतिष परिषद्सँग परामर्श लिने बताएका छन् ।

नेपाल ज्योतिष परिषद्को साेमबार आयोजना गरिएको २४ औँ वार्षिक अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष अधिकारीले सबै ज्योतिषलाई लाइसेन्स प्रदान गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ज्योतिष परिषद्सँग परामर्श लिने बताए । “ज्योतिष, धर्मशास्त्र र तन्त्रमन्त्र, वास्तु एक अर्का परिपूरक हुन्, यसको रक्षाका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्छ”, उनले भने । अध्यक्ष अधिकारीले आफूले कमाएको सम्पत्ति शुद्धिको निम्ति धर्म संस्कृतिको संरक्षणको क्षेत्रमा दान गरेमात्र पुण्य प्राप्ति हुने बताए ।


नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले ज्योतिषीहरू आचारसंहितामा बसेर ज्योतिषीय कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले आगामी पुस २४ गते परिषद्को २५औँ रजत जयन्तीलाई भव्य रुपमा सम्पन्न गर्दै वर्षभरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे । दुई वर्षे कार्यकालमा परिषद्को भवन निर्माण सम्पन्न गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो ।

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा सहदेव विष्ट, राष्ट्रिय ज्योतिष विज्ञान समितिका अध्यक्ष तिलकराज पौडेललगायतले अधिवेशनको शुभकामना दिएका थिए । विसं २०५५ सालमा स्थापना भएको परिषद्ले देशभरका सातवटै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको ज्योतिष परिषद्का केन्द्रीय सदस्य एवं कार्यालय सचिव शिवलाल पौडेलले जानकारी दिए ।