घरबासको आकर्षक परिकार रातो च्याउ



गलकोट । बागलुङमा पछिल्लो समय घरबास पर्यटन निकै फस्टाउँदै गएको छ । बिदाका समयमा घुम्ने, रामाइलो गर्ने र पर्यटकीयस्थलको भ्रमण गर्ने परिपाटीसँगै आन्तरिक पर्यटक जिल्लाका विभिन्न घरबासमा पुग्ने गरेका छन् ।

बागलुङको ताराखोला गाउँपालिकाको एक घरबासले भने अन्य घरबासको तुलनामा फरक परिकारको स्वादले मनै लोभ्याउने गरेको छ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका-५ स्थित ठूलो हिले सामुदायिक घरबासको मुख्य आकर्षणका रुपमा जंगली रातो च्याउ रहेको छ ।


दुर्गम स्थानको ठूलो हिले सामुदायिक घरबासले आफ्नो घरबासको मुख्य परिकारका रुपमा रातो जंगली च्याउको परिकार पाहुनाले खुबै रुचाउने गरेका छन् । ताराखोलाको डुडेलेकको जंगलको ठुटामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरबासमा पुग्ने गरेका छन् ।

घरबासमा पुग्ने पाहुनाले त्यहाँको प्राकृतिक मनोरम दृश्य र सँगै अर्गानिक उत्पादनले आफूलाई आकर्षित गरेको ठूलोहिले सामुदायिक घरबासका सञ्चालक तेजेन्द्रबहादुर श्रीसले बताए ।

‘ताराखोला भन्नासाथ रातो च्याउको नाम आउँछ, हामीले घरबासमा यसलाई मुख्य परिकारका रुपमा अगाडि सारेका छौँ, त्यसबाहेक सेतो च्याउ र फापरको पीठो दोस्रो आकर्षण हो’, श्रीसले भने, ‘डुडेलेक एक आकर्षक पर्यटकीय गन्तव्य हो, हामीले पर्यटकलाई आकर्षित गर्न घरबास सञ्चालनमा ल्याएका हौँ ।’ बर्खामा बाटोका कारण पर्यटक घटेको भए पनि च्याउको कोसेली पठाउन फोन आउनेसमेत गरेको छ ।

घरबासमा रातो च्याउबाहेक जंगली सेतो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल घारबासको मुख्य परीकार हो । पर्यटकीय क्षेत्र डुडेलेक पुग्ने र स्थानीय परिकारका पारखी ठूलो हिले पुग्ने गरेका छन् । तीन वर्षदेखि सञ्चालनमा आएको ठूलो हिले सामुदायिक घरबास पर्यटकीय क्षेत्रमा भएकाले पर्यटकको रोजाइमा पर्न थालेको हो ।

तारोखोला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महँगो छ । प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जंगली रातो च्याउ ताराखोला पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख रहेको छ ।

घरबास नखुल्दैसमेत यहाँ सामान्य पर्यटक घुम्न आउने गरेका थिए । ताराखोला गाउँपालिकाको सहयोगमा घरबास सञ्चालनमा ल्याएपछि यहाँ आउने पर्यटकहरु बढ्न थालेका छन् । घरबासमा आउने जोकोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेको घरबास सञ्चालक बताउँछन् ।

पाहुनाले आफ्नो परिवारका सदस्य रहेको युरोप, जापान, अष्ट्रेलिया तथा अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गरेर पठाउँदै आएको पाइएको छ । सुकेको रातो च्याउ लामो समय रहने भएकाले विदेशमा कोसेलीका लागि लैजाने गरेका छन् ।

जंगली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयवासीले जङ्गली च्याउ सुकाएर राख्ने गरेका छन् । अहिले सुकेको एक पाथी रातो च्याउको मूल्य ताराखोलामै दुई हजार ५०० देखि तीन हजारसम्म पर्ने ताराखोलाका स्थानीयवासी वसन्ती घर्तीले बताए ।