गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री



काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको १३ औँ दिनको पुण्य तिथिमा आज कांग्रेस केन्द्रीय कार्यसमिति एवं कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै उनले गिरीको विचार र उनका कृतिलाई अध्ययन र अनुसरण गर्न सकेका खण्डमा समाजवादी आन्दोलनलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


प्रधानमन्त्री देउवाले भने, “गिरीको निधनले कांग्रेस पार्टी, नेपाललाई मात्रै नभई विश्व समाजवादी आन्दोलनलाई समेत अपूरणीय क्षति पुगेको छ । हामीले गिरीको कृति पढेर त्यसलाई अनुसरण गरेमा समाजवादी आन्दोलनलाई धेरै ठूलो सहयोग पुग्छ ।” समाजावादी मात्रै नभई दार्शनिक व्यक्तित्व भएको उल्लेख गर्दै उनले गिरीले लेखेका कृति र विचारलाई अनुसरण गर्न सकेका खण्डमा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरे ।

“गिरी विद्धान व्यक्तित्व हुनुहुन्थ्यो, उहाँलाई थाहा नभएको विषय नै हुँदैनथ्यो । बिपी कोइरालापछि गिरी नै हो प्रजातान्त्रिक समाजवादप्रति गहिरो ज्ञान भएको व्यक्ति हो । उहाँको विषयमा जति वर्णन गरे पनि अपुरो हुन्छ”, प्रधानमन्त्री देउवाले भने । गिरीले आफूलाई भारतका धेरै समाजवादी चिन्तकसँग परिचित गराएको प्रधानमन्त्री देउवाले स्मरण गरे । उनले भने, “ गिरीको संसद्मा केही कुरा राख्ने चाहना थियो तर त्यो राख्न पाउनुभएन । उहाँ अत्यन्तै भर्साटाइल व्यक्ति हुनुहुन्थ्यो । उहाँमा धेरै विषयको ज्ञान थियो, किताबप्रेमी, किताब पल्टाएपछि पूरै नपढी नछोड्ने बानी थियो ।”

प्रधानमन्त्री देउवाले गिरीले लेखेका पुस्तक र विचारलाई पार्टीले देशभर पु¥याएर समाजवादी चेतना अभिवृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गरे । निष्ठावान्, त्यागी नेता, समाजवादी चिन्तक, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो ।