गठबन्धनको पोल खोलिने डरले प्रधानन्यायाधीशको बयान रोकिन सक्छ : ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने बताएका छन् ।

गृह जिल्लाका विभिन्न कार्यक्रममा भाग लिन बिहीबार झापा पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गठबन्धनले प्रधानन्यायाधीशको बयान रोक्न सक्ने बताएका हुन् ।


जबराले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएबापत लेनदेन भएको र न्यायाधीशहरू बिकेको पोल खोल्न थालेपछि बयान रोक्ने षड्यन्त्र भइरहेको ओलीको आरोप छ ।

उनले भने, ‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन । उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन् ।’ जबराको बयान बिहीबार रोकिएको छ । आइतबार पुनः बयानका लागि बोलाइएको छ ।