काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले आगामी मङ्सिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा अरु पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको बताएका छन् । प्रवक्ता महतले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीभित्र गठबन्धन बनाएर जाने विषयमा कुनै मतमतान्तर नरहेको बताए ।
“पार्टीभित्रको मतमतान्तर पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिको बैठकमा समाधान हुन्छन्, निर्वाचनसम्म गठबन्धन बनाएर जाने विषयमा पार्टीभित्र कुनै मतमतान्तर छैन”, उनले भने । प्रवक्ता डा महतले अहिलेकै गठबन्धनलाई जोगाएर निर्वाचनसम्म लैजाने स्पष्ट पारे । “अघिल्लो निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा स्वाभाविक हुने, अहिले कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गर्दा अस्वाभाविक हुने ?”, उनले प्रश्न गरे ।
कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगरे अर्को दलले माओवादीसँग गठबन्धन गर्नसक्ने उनको भनाइ छ । उनले देशको ठूलो पार्टी कांग्रेसमा निर्वाचनका लागि धेरै आकांक्षी हुनु स्वाभाविक भएको बताउँदै सबै आकांक्षीलाई मिलाएर लैजानु पार्टीभित्र चुनौतीपूर्ण रहेको उल्लेख गरे । “धेरै सिट लिनुभन्दा धेरै सिटमा जित्नु कांग्रेसका लागि महत्वपूर्ण कुरा हो”, उनले भने । समावेशीतालाई सुनिश्चित गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन कांग्रेसले विगतका दिनमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
प्रवक्ता डा महतले आगामी निर्वाचनमा पार्टीका भ्रातृ संस्था, शुभेच्छुक संस्था र आम युवालाई मतदाताको घरदैलोसम्म परिचालन गरिने स्पष्ट पारे । “केन्द्रमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यसमितिले पूर्णता पाएका छैनन्, पूर्णता दिन पाएको भए राम्रो हुन्थ्यो, जिल्ला÷जिल्लामा भएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्वाचनको समयमा परिचालन गछौँ”, उनले भने ।
उनले पार्टीभित्र टिकट नपाउँदा स्वतन्त्र उठ्ने प्रवृत्ति बढेको भन्दै स्वतन्त्र उठ्न नदिने वातावरणका लागि कांग्रेस लाग्ने बताए । पारदर्शी र विकासको मामिलामा कांग्रेस सधैँ अगाडि उभिएको उनको भनाइ थियो । उनले कांग्रेस सरकारको पालामा अधिकांश सञ्चार गृह खुलेको स्मरण गर्दै पत्रकारको पेशागत अधिकार र प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने पक्षमा कांग्रेसले सधैँ सकारात्मक भूमिका खेल्ने उल्लेख गरे ।