केन्याविरुद्धको एकदिवसीय सिरिज नेपाललाई



काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एक/एक विकेट लिए । यसअघि नैरोबीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रन बनाए ।


यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगोचे र विराज पटेलले दुई÷दुई विकेट लिए । जितसँगै नेपालले तीन खेलको शृङ्खलामा दुई–शून्यको अग्रता लिएको छ । योसँगै नेपालले एक खेलअघि नै शृङ्खला आफ्नो पक्षमा पारेको छ । तेस्रो खेल सोमबार हुनेछ ।