काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौं करोडौं मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।
मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिका लागि काम गरेको अनुभूति भएको भए पनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन् ।
‘हामी मन्त्री, प्रधानमन्त्री त भयौँ तर यो जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको छ । हिजो मानव जातिको मुक्तिको लागि सम्पूर्ण समर्पणसहित जनयुद्धमा लाग्दा पद प्रतिष्ठा र स्वार्थको लागि थिएन, मानव जातिको लागि गरेका थियौँ,’ प्रचण्डले वातावरण पनि भावुक र संवेदनशील भएको भन्दै भने, ‘एक्लै जंगलमा हुँदा,पहाड उकाला ओराला,नदीनाला सबैमा एक्लै हिँड्दा पनि लाखौं करोडौं अरबौँको बीचमा सँगै हिँडेको जस्तो लाग्थ्यो । तर आज लाखौं करोडौं मान्छेका बीचमा छौँ तर एक्लो महसुस हुन्छ ।’
प्रचण्डले जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे । अहिलेको अवस्था जेजस्तो भए पनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए ।
प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थमा आधारिक पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे। आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्वलाई कसैले भुल्न नहुने उनको भनाइ थियाे।
प्रचण्डले युद्धमा सहभागिहरुलाई जति शान्तिको महत्व अरुलाई नहुने टिप्पणी पनि गरे।
अरू के के भने प्रचण्डले? उनकै शब्दमा
शान्ति सम्झौतामा आएपछि संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने क्रमसँगै मैले थुप्रै पुस्तकहरू लोकार्पण (विमोचन) गर्ने मौका पाएँ । जनयुद्धसँग सम्बन्धित थुप्रै कथा, संस्मरण र उपन्यास पनि लोकार्पण गरेँ, तर आज कमरेड सुदन किराँतीको यो ‘पलपलको मृत्यु’ र त्योसँग सम्बन्धित लोकार्पण कार्यक्रम जुन रूपमा प्रस्तुत गरियो यो मेरा लागि पनि पहिलो र अविस्मरणीय रह्यो ।
म कमरेड सुदन किराँती, कमल ढकाल र यसको प्रकाशनमा सहयोग गर्ने सबैलाई पार्टी र मेरो तर्फबाट धन्यवाद र बधाई भन्न चाहन्छु । मैले अहिले धेरै भन्न सक्ने स्थिति भएन ।
वातावरण धेरै नै भावुक र संवेदनशील पनि भयो । मैले यस्तो सोचेको थिइनँ । सुदनजीले अस्ति यस्तो नाटकजस्तो गरी पनि लोकार्पण गरिँदैछ है भनेको भए म एउटा माइन्ड मेकअप गरेर आउथेँ होला । एकैचोटी आएर अँध्यारोमा, डरलाग्दो किसिमले प्रदर्शन गरिदिएपछि मलाई धैरै गाह्रो भएको छ । तर पनि मैले भनेँ, मेरो थुप्रै विमोचन र लोकार्पणमध्ये यो पहिलो र अविस्मरणीय बन्न गयो । हामी सबैलाई यसले भावुक र संवेदनशील बनाएकै छ ।
जनयुद्धसँग सम्बन्धित शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्र सम्बन्धित यस्ता हजारौँ संस्मरणहरू, हजारौँ यथार्थमा आधारित पक्षहरू रहेका छन् । र, यसको जुन स्तरबाट उत्खनन् र अन्वेषण हुनुपर्ने हो र समाजमा स्थापित गर्नुपर्ने हो त्यस्तो हुन सकेको छैन । एकदमै कम मात्र भएको छ । मानिसहरूले यसको महत्त्व र गहिराइलाई मानिसको रूपमा जन्म भएपछि जीवनलाई कसरी व्यतीत गर्ने भन्नेसँग सम्बन्धित कुरामा त्यो भन्दा ठुलो गहिराइमा आधुनिक नेपाल निर्माणको सन्दर्भमा अरू छ जस्तो मलाई लाग्दैन । शान्तिको महत्त्व युद्धमा सहभागीहरूलाई जति गहिराइमा थाहा हुन्छ,अरूलाई हुँदैन भनिन्छ । मानव जातिको विकास क्रमको पछिल्लो चार हजार वर्षको इतिहासमा झण्डै साढे ३ हजार वर्ष मानिसले युद्धमा बिताएको छ । थोरै मात्रै शान्तिकालमा बितेको छ । त्यसरी समाज अघि बढेको छ र शान्तिको महत्त्व मानव जीवनको महत्त्व युद्ध जीवनबाट परिभाषित छ त्यसले मात्रै राम्रोसँग बुझ्न सक्दछ ।
आज कमरेड सुदन किराँतीको जेल जीवनसँगसम्बन्धित संस्मरण जो यथार्थमा आधारित छ त्यो उहाँ आफैले भोगेको घटनाक्रम हो, हामी सबैलाई यसले एक खालको उद्वेलन दिएको छ । जनयुद्धमा लाग्दा पनि हामीले सुरुमा नै हामी सबैले कुनै पनि बेला मृत्यु या मुक्तिमध्ये एक भनेर सङ्कल्प लिएको हो । त्यो अभियानमा सहभागी जो कसैलाई पनि मृत्यु कुनै पनि बेला आउँछ भन्ने कुरा र अप्ठेरा क्षणहरू जेल,नेल, यातना सबैखालका भागाइहरु भोग्ने मानसिक तयारीका साथ आन्दोलनमा लागेको हौँ ।
मैले के भन्न चाहिरहेको छु भने, जीवनको महत्त्व, जीवनप्रतिको अनुराग, संवेदना यसको गहिराई, यसको उचाइ त्यो कठिन दिनमा जति थियो अहिले छैन । अहिले हामी भौतिक रूपले सुरक्षित छौ, हामी माननीय, मन्त्री र प्रधानमन्त्री पनि भएका छौ । तर जीवनको आनन्दानुभूति भनौँ या जीवनबोध त्यतिबेला जो गर्वका साथ जीवनको औचित्य र अर्थ परिभाषित गर्दा अनुभूत गर्थ्यौ,अहिले हामीलाई गाह्रो परिरहेको छ । यो जीवन सार्थकता, औचित्य र यसमा गर्वबोध गर्न गाह्रो भएको छ । प्रधानमन्त्री, मन्त्री र माननीय भएर पनि । जनयुद्धका ती दिनहरूमा हामी समाज परिवर्तनको निम्ति, मानव जातीकै हितका निम्ति उद्दत ढंगले सम्पूर्ण त्यागसहित,समर्पणसहित कुनै पनि व्यक्तिगत स्वार्थ पद प्रतिष्ठाका निम्ति थिएन । सिङ्गै मानव जातीको निम्ति हामी सबभन्दा उचाइमा बसेर काम गरिराखेका छौ भन्ने अनुभूति हुन्थ्यो । त्यति ठुलो गर्व, हामी एक्लै जंगलमा हुँदा, पहाड, उकाला, ओराला, भीरपाखा,नदीनाला सवैमा एक्लै हिँड्दा पनि लाखौँ करोडौँ मानिसका निम्ति काम गरेको र उनीहरूसँगै हिँडेको अनुभूत हुन्थ्यो । अहिले हामी लाखौँ-करोडौँ मान्छेका बीचमा छौँ तर एक्लो महसुस हुन्छ कहिलेकाहीँ । एक्लो पो परिएको छ । त्यसकारण जीवनबोध पनि वास्तवमै एउटा उद्दत्त भावनाका साथ महान् कामका निम्ति समर्पित छु भनेर आफूलाई लाग्दा हुने अनुभूति र हामी कहीँ पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका निम्ति त काम गरिरहेका छैनौँ ? भनेर हुने अनुभूतिमा आकाश जमिनको फरक हुने रहेछ ।
फेरि पनि उहाँले संस्मरणमा भनेजस्तै हाम्रो समाज रूपान्तरणको, सामाजिक न्याय र समाजवादको यात्रा हामीले छोडेका छैनौ । हामी बाचिरहेको र रातदिन खटिरहेका छौ भने त्यही सपना दिमागमा भएकै कारणले अगाडि बढिरहेका छौ, नत्र दिनदिनैको आजभोलिको मात्रै दिनचर्या हेर्ने हो भने हामीलाई गर्वानुभूति छैन । आनन्दको अनुभूति पनि छैन । जीवनको महत्त्व महान् हो मेरो भन्ने पनि अनुभूति कमजोर परेको छ । खाली हामी फेरि पनि त्यो महान् यात्राकै प्रक्रियामा छौ,यो एउटा घुम्तीमा आएको हो,मोड र बिसौनीमा बसेका छौ । हामे यात्रा जारी छ । हामी जाने समाजवादमै हो त्यो लक्ष्यमा पुग्नेछौ भन्ने कुराले नै अहिले पनि दुख कष्ट गर्न मेहनत गर्न उत्प्रेरित गरिरहेको छ । मलाई लाग्छ यहाँ आज सुदन किराँतीको संस्मरणलाई कलाकारहरूले बडो जीवन्त ढंगले प्रस्तुत गर्नुभयो । म कलाकार भाइबहिनीलाई पनि विशेष रूपले धन्यवाद भन्न चाहन्छु । बुबाको भूमिका जीवन्त रूपले गर्ने कलाकारलाई पनि । त्यसकारण यो सांस्कृतिक रूपान्तरण, या सांस्कृतिक चेत यथार्थपरक भयो भने त्यसमा शक्ति बेग्लै हुन्छ, त्यो कृत्रिम काल्पनिक मात्रै हुँदा र यथार्थमा आधारित कथा र जीवन्त प्रस्तुतिले दिने रूपान्तरणको तागत पनि धेरै ठुलो हुन्छ । आज यो संस्मरण र प्रस्तुतिबाट त्यस्तै सन्देश गएको छ ।
मलाई लाग्छ कमल ढकालले भनेजस्तै आउने दिनमा पनि यस खालका सामाग्रीहरू तयार हुँदै जानेछन् । सुदन किराँती आफै एउटा जल्दोबल्दो युवा नै हुनुहुन्छ अझै पनि । उहाँले अहिले नै रचनाहरू निर्माण गर्ने र प्रस्तुत गर्ने जमर्को गर्नुभएको छ, सफलताको सिँढी चढ्दै हुनुहुन्छ । राजनीतिमा मन्त्री या राष्ट्रपति सुदनका निम्ति अब ठुलो कुरा रहेन । माननीय हुनुहुन्छ मन्त्री त भइनै हाल्नुहुन्छ । राष्ट्रपति पनि हुने नजिकै छ । तर मलाई लाग्छ त्यो जेलमा, उहाँले एउटा उद्देश्यका निम्ति समर्पित भएर जुन पलपलमा जीवन र मृत्युको दोसाँधमा बसेर जे अनुभूत गर्नुभयो प्रधानमन्त्री भए पनि राष्ट्रपति भए पनि त्यो स्तरको मानवीय जीवनको गहिराइको अनुभूति गाह्रो हुन्छ भन्ने मलाई लाग्छ तर पनि मन्त्री, प्रधानमन्त्री बन्नुहुन्छ म उहाँलाई शुभकामना पनि दिन चाहन्छु । र, आउने दिनमा अझ राम्रा रचना,संस्मरण र कथाहरु तयार हुनेछन् भन्ने विश्वास लन चाहन्छु । धन्यवाद ।