कमाण्ड अवधारणालाई यथावत राख्दै, पृतनालाई अघि बढाउँदै सेना



काठमाडौँ । नेपाली सेनाले कमाण्डको अवधारणालाई यथावत राख्दै साङ्गठनिक पुनःसरचना २०७८ लागू हुनुपूर्व कायम रहेका पृतना, बाहिनी, गण र गुल्मको संरचना कायम राख्ने निर्णय गरेको छ ।

फिल्डदेखि जङ्गीअड्डासम्म सेनाको सन्तुलित उपस्थिति भई चेनअफ कमाण्डलाई मजबुद बनाउने उद्देश्यले विगतका संरचना यथावत कायम राख्न सैनिक मुख्यालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले यही भदौ २१ गते स्वीकृत गरेको छ ।


सो निर्णयलाई कार्यान्वयन गर्दा थप आर्थिक दायित्व नपर्ने र कूल दरबन्दी सङ्ख्या यथावत नै रहने नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिए ।

उनले भने, ‘निकट भविष्यमा नै आठवटै पृतना पूर्ववत् रूपमा क्रियाशील भई आसन्न निर्वाचनमा सेना परिचालन हुनका लागि सहज हुने भएकाले मन्त्रिपरिषद्को निर्णयअनुरूप आवश्यक तयारी र योजना भइरहेको छ ।’

देशको प्रादेशिक तथा स्थानीय संरचनासँग सामञ्जस्यता कायम गरी निर्वाचन सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षालगायतका प्राप्त जिम्मेबारीलाई प्रभावकारीरूपमा सम्पादन गर्न असहजता भएपछि सेना कमाण्डसँगै पृतना अवधारणालाई अघि बढाउने निर्णयमा पुगेको हो ।

स्वीकृत साङ्गठनिक संरचना, २०७८ लाई कार्यान्वयनमा लैजाँदा आइपरेका व्यावहारिक कठिनाइ, कानूनी तथा नीतिगत व्यवधान, कमाण्ड हेडक्वार्टरलगायत तल्लो तहबाट प्राप्त पृष्ठपोषणका आधारमा सेना उक्त निर्णयमा पुगेको छ ।

पुनःसंरचना लागू गर्दा खडा गर्नुपर्ने युनिटका लागि आवश्यक आर्थिक उल्झन बहन गर्न हालको अवस्थामा असम्भव प्राय भएको सेनाको स्पष्टोक्ति छ ।