काठमाडाैँ । काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा आज साँझ पौने ७ बजेतिर ग्याँस सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।
आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताए ।