एमालेको आरोप : सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारी सरुवा गर्‍यो



काठमाडौँ । नेकपा एमालेले निर्वाचन प्रभावित पार्न सरकारले आफू निकटका कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले निर्वाचन प्रभावित गर्न प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र कार्यकारी अधिकृतको सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न माग गरेका छन् । भट्टराईले भने, ‘कामचलाउ सरकारको रूपमा रहेको सरकारले धमाधम दूरगामी महत्वका विधेयक ल्याउने र कर्मचारीको जथाभावी सरुवा गरिरहेको छ । निर्वाचन प्रभावित गर्ने गरी छानीछानी सिडियओ र प्रहरी लगिएको छ । रिक्त भएको ठाउँमा निर्वाचन आयोगको सहमति लिएको भए हामीले विरोध गर्ने थिएनौं । अहिले मिल्ने भए झण्डै बोक्नेलाई जिल्लामा पठाउने काम गरिरहेको छ ।’


उनले स्वतन्त्र निर्वाचनमा हस्तक्षेप गर्न खोजिए प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् । उनले भने, ‘सबै खाले सरुवा बन्द गर्ने, निर्वाचन भएपछि गरिएका नियुक्ति बन्द गरेर मंसिरसम्म अहिलेकै कर्मचारी कायम राख्न माग गर्दछौं ।’