अछाम पहिराको घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाणको निर्देशन



काठमाडौंँ । गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका हुन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न उनले निर्देशन दिएका हुन् ।


उनले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे आज जानकारी लिएका छन् । उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउधनको रक्षा गर्नुभएको भन्दै बाढी र पहिरामा परी घाइते भएकाको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखी पठाउन निर्देशन दिएका छन् ।