२५ वर्षसम्म पनि बनेन इलाका प्रशासन कार्यालयको भवन



बागलुङ ।  पश्‍चिम बागलुङका हजारौँ नागरिकलाई विसं २०५४ अगाडिसम्म सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो। यहाँका हजारौँ नागरिकलाई लक्षित गरी २५ वर्षअघि बुर्तिबाङ इलाका प्रशासन कार्यालय सञ्चालनमा आयो। तर कार्यालय सञ्चालनमा आएको साढे दुई दशक बितिसक्दा पनि आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।

दैनिक सयौँ सेवाग्राही कार्यालयमा सेवा लिन आउने हुँदा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नसकेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले बताए। कुँवरले निजी घर भाडा लिएर कार्यालय सञ्चालन गर्दा साँघुरा कोठामा बसेर काम गर्दा सेवाग्राहीलाई प्रभावकारीरूपमा सेवा प्रदान गर्न समस्या भएको उनको भनाइ छ।


‘इलाका प्रशासन कार्यालयको आफ्नै भवन छैन, आफ्नो भवन नहुँदा निजी घर भाडामा लिएर काम गर्नुपर्ने हुन्छ, भने जस्तो घर पाइँदैनन्। त्यसले गर्दा साँघुरो कोठामा बसेर धेरै सेवाग्राहीलाई सेवा दिनुपर्छ,’ प्रमुख कुँवरले भने, ‘सेवाग्राही आएर बस्ने ठाउँ पनि हुँदैन, खानेपानी, विद्युत्को पनि राम्रो व्यवस्था हुँदैन, महत्वपूर्ण कागजात हुन्छन्। व्यवस्थापन गर्न पनि निकै गाह्रो हुने गरेको छ।’

कार्यालयले अहिले स्थानीय शान्ति छन्त्यालको घर भाडामा लिएर सेवा प्रदान गरिरहेको कुँवरले जानकारी दिए। यसअघि बुर्तिबाङको उपल्लो बजार, फाँट बजारमा कार्यालय सञ्चालन गरेकामा अहिले लक्ष्मीकुण्ड पुल नेर सरेको उनको भनाइ छ। अरुको घरमा बस्दा र समयसमयमा घर सर्नु पर्दा ठूलो समस्या पर्ने गरेको कुँवर बताउछन्। 

‘अहिलेसम्म चार-पाँच ठाउँ सरियो, आफ्नो भवन भएको भए यसरी सर्नुपर्ने थिएन, एकै ठाउँबाट सेवा दिन सकिन्थ्यो, कार्यालय सर्ने हुँदा सेवाग्राहीले पनि दुःख पाइराख्नुभएको छ। यस अगाडि फाँट बजारमा थियो। अहिले यहाँ सरेको धेरै भएको छैन,’ उनले भने, ‘घर सरिरहँदा महत्वपूर्ण कागजात हराउने सम्भावना हुन्छ, घरभेटीले सर्न भने घर छोड्नै पर्‍यो, यसरी काम गर्दा निकै समस्या हुनेरहेछ, भवन बनाउन अहिलेसम्म केही छलफल नै भएको छैन।’

कार्यालयका लागि १२ कोठा भाडामा लिएर सेवा दिई राखेको कुँवरको भनाइ छ। घरको मासिकरूपमा रु ३३ हजार भाडा तिर्दै आएको उनी बताउँछन्। उनले हरेक दुई-दुई वर्षमा १० प्रतिशत घर भाडा बढाउने सहमति भएको जानकारी गराए। 

यस कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या रहेको उनले बताए। आठ दरबन्दी भएको कार्यालयमा हाल करारका दुईसहित पाँच मात्रै कार्यरत छन्। सेवाग्राही प्रेमबहादुर कुँवरले इलाका प्रशासन कार्यालय साँघुरो घरमा हुँदा बालबालिका र वृद्धवृद्धाका लागि समस्या हुने गरेको बताए। 

उनले सेवाग्राहीले विश्राम गर्ने ठाउँ नहुँदा घण्टौँ उभिएर लाइनमा बसेर सेवा लिनुपर्ने अवस्था रहेको बताउनुभयो। कर्मचारी कम हुँदा सामान्य कामका लागि घण्टौँ कुर्नुपर्ने उनको भनाइ छ।

‘यो प्रशासन कार्यालयले बागलुङका आधाका जनतालाई सेवा दिन्छ, तर आफ्नो भवन छैन, यस्तो साँघुरो ठाउँमा, साँघुरो घरमा कार्यालय छ, सयौँ सेवाग्राही आउँछन्, उनीहरु घण्टौँसम्म लाइनमा बस्नुपर्छ, यहाँ बस्ने आराम गर्ने ठाउँ पनि छैन,’ उनले भने, ‘धेरै वर्ष भयो यहाँ यो कार्यालय सञ्चालनमा आएको तर अहिलेसम्म गतिलो भवनबाट कार्यालय सञ्चालन गरेको छैन।’

कार्यालयका आवश्यक कागजात बोक्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन एउटा गाडीको आवश्यक रहेको कर्मचारी बताउँछन्। यसका लागि सम्बन्धित निकायमा माग गरे पनि अझैसम्म माग पूरा हुन नसकेको उनीहरुको भनाइ छ। यो प्रशासन कार्यालय विसं २०५४ विस्थापित भएर केही वर्ष सञ्चालन भएको थियो। सशस्त्र द्वन्द्वका बेला विस्थापित भएर पुनः विसं २०६३ मा पुनःस्थापित भएको थियो। 

सुरुमा सरकारले प्रशासन कार्यालयलाई एकीकृत सेवा केन्द्रको नाम दियो। एकीकृत सेवा केन्द्र विसं २०६९ देखि २०७५ सम्म कायम रहेको थियो भने पुनः विसं २०७५ मा इलाका प्रशासन कार्यालयमै रूपान्तरित भएको थियो।

विसं २०५४ मा इलाका प्रशासन कार्यालयको नाम दिई स्थापना भएको यस कार्यालयको विभिन्न समयमा नाम परिवर्तन भए पनि सेवा भने निरन्तर प्रवाह गरिँदै आएको छ। यस कार्यालयबाट पश्चिम बागलुङको निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ३२ वडाका जनताले नागरिकता, राहदानीलगायत सेवा लिँदै आएका छन्। 

बुर्तिबाङमा इलाका प्रशासन कार्यालयसँगै मालपोत कार्यालय पनि सञ्चालनमा आएको छ। यी दुई कार्यालय सञ्चालनमा आएपछि बागलुङ क्षेत्र नम्बर २ का हजारौँ नागरिक प्रत्यक्ष लाभाम्वित भएका छन्।