हेटौँडामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या ह्वात्तै बढ्याे



हेटाैँडा । बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुरमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुु सङ्क्रमणका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । हालसम्म सात सय २१ जना डेङ्गुका विरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सात सय २१ डेङ्गुुको बिरामीमध्ये ५० प्रतिशत हेटौँडा उपमहानगरपालिका–४ मा रहेको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । यस वडाका घरघरमा डेङ्गुुलगायत ज्वरोका बिरामी रहेको बताइएको छ । त्यस्तै हेटौँडा वडा नं ५, ९ र १० लगायत मकवानपुरगढी र मनहरी गाउँपालिका पनि डेङ्गुबाट प्रभावित छ ।


डेङ्गुलगायत ज्वरोका दैनिक एक सय ५० भन्दा बढी बिरामी हेटाैँडा अस्पताललगायत अन्य नर्सिङहोम तथा निजी अस्पतालमा उपचारका लागि आउने गरेको छ । यस्तो अवस्थामा हेटौँडा सरकारी अस्पतालमा डेङ्गु जाँच्ने कीटसमेत नरहेको बिरामीको गुनासो रहेको छ ।

उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीलाई कीट छैन भनी बिरामीलाई फर्काउने गरेको बताइएको छ । त्यहाँ उपचार नपाएपछि बिरामी आत्तिएर मकवानपुर सहकारी अस्पताल, चितवन अस्पताल र काठमाडौँ उपचारका लागि जाने गरेको बताइएको छ ।

साउन तेस्रो हप्तामा प्रथम पटक २८ जनामा यो रोग फेला परेको र त्यसपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा डेङ्गुलगायत ज्वरोका बिरामी बढेको तर कीटको अभाव भएको बताए ।

यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने तथा पेट दुख्ने, बान्ता हुने गरेको प्रथम लक्षण रहेको छ । यसमा बिरामीको प्लेटलेस कम हुन्छ । उता हेटौँडा उपमहानगरपालिकाले डेङ्गुबाट बच्न सरसफाइमा जोड दिन माइकिङ गरिरहेको तर नियन्त्रण गर्ने उपाय नगरेको हेटौँडा–४ का सीताराम अधिकारीले गुनासो गरे ।

गत आर्थिक वर्ष २०७८/७९ मा मकवानपुर जिल्लामा एक सय ९५ मा डेङ्गु फेला परेको थियो । यसैबीच मकवानपुर जिल्लामा जापानी इन्टेफ्लाइटिस रोगबाट तीन जनाको मृत्यु भएको छ । उक्त लामखुट्टेको सङ्क्रमणबाट हुने सो रोगका कारण हेटौँडा उपमहानगरपालिका–३ का एक जना पुरुष र बकैया गाउँपालिका– ७ का दुई जना पुरुषको मृत्यु भएको सो कार्यालयबाट बुझिएको छ ।