गलेश्वर । मगर संस्कृतिको धरोहर मानिने जयसिङ्गे राजा र हैमती रानीको स्मरणमा आधारित प्राचीन सोरठी नृत्य लोपलोपोन्मुख अवस्थामा पुगेपछि मगर समुदायका अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन् । जयसिङ्गे राजा र हैमती रानीको कथामा आधारित उक्त नृत्य मगर समुदायको मौलिक नृत्य हो ।
देवी, देउता, पौराणिक घटना र कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिन्छ । सोरठी गीतमा मानिसका दुःख, वेदना, समस्यालगायत चाडपर्वका शुभकामनालाई पनि लयवद्धरुपमा प्रस्तुत गरिन्छ । मगर समुदायमा सोरठी नाच विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमा समेत नाच्ने गरिन्छ । यो नाचलाई पुख्र्यौली नाच पनि भन्ने गरिन्छ ।
सोरठीमा पुरुषले महिलाको वेशमा कलात्मक ढङ्गले मादलको तालमा ताल मिलाएर नाच्छन् । महिलाको वेशमा सजिएका पुरुष कलाकारलाई मारुनी भनिन्छ । सोरठीमा ठाउँअनुसार दुईदेखि तीनजना मारुनी बनेका हुन्छन् । त्यस्तै मादले पनि दुईदेखि तीन जना हुन्छन् ।
म्याग्दीमा पनि गाउँघरमा मगर समुदायमा चाडबाड, विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमासमेत नाच्ने गरिँदै आएको छ । जिल्लाको उत्तरी र पश्चिम भेगका मगर बस्तीमा पहिलेजस्तो सोरठी गीत र नाच छ्यापछ्याप्ती देख्न सकिँदैन ।सोरठी गाएर नाच्नुपूर्व सबै देवीदेवताको नाम लिएर तीन तालमा मादल ठोक्नुपर्ने मान्यता छ ।
यसैलाई सरस्वती उतार्ने पनि भनिन्छ । सोरठी नृत्यमा पहिले सरस्वती जगाइ सकेपछि मादलको तालमा नाच्ने गरिन्छ। परम्परागत मान्यताअनुसार चोखो हृदय भएको मान्छे तीन ताल मादल बजाउँदा हल्लिन्छ र उसलाई विधिपूर्वक थामथुम पारेर बसाल्नुपर्छ ।
सरस्वती पुज्ने, आँगन पुज्ने, मादल पुज्ने, आंशिक दिनेलगायतविधि पूरा गरेपछि मात्र सोरठी सुरु हुने म्याग्दी पुख्र्यौली सङ्घका अध्यक्ष थप्रसाद गर्बुजाले बताए । गाउँ र ठाउँ अनुसार सोरठी गीतको लय र विधि पनि फरक–फरक हुने उनको भनाइ थियो ।
सोरठीमा गाउन र नाच्न मादले, मारुनी, पुरुसुङ्गेसहित कम्तीमा २० कलाकार आवश्यक पर्छ । मादलकै तालबाट मूल गायकको निर्देशनअनुसार अन्य कलाकारले गायनमा साथ दिने गर्छन् ।
सोरठीको अलिखित इतिहाँस सोरठी नाच्ने र गाउँने चलन कसले र कहिलेदेखि चलाएको हो भन्ने कुराको इतिहास अलिखित छ । यो नाच पछिल्ला पुस्तामा हस्तान्तरण हुन नसक्दा भने बुढापाका चिन्ता व्यक्त गर्छन् । समयअनुसार गाइने सोरठी गीतको आफ्नै विशेषता छ । पछिल्लो समय मगर समुदायमा सोरठी नाच्ने र नाच्नका लागि गाउने गीत तथा कथा वाचन गर्ने जनशक्ति अभाव हुँदै गएको मालिका गाउँपालिका–४ च्युरीबोटस्थित दाजुङ खोलाख्याली सोरठीका अध्यक्ष बोमबहादुर पुनले बताए । सोरठी संरक्षण र प्रवद्र्धन गर्न स्थानीय सरकारसँगै युवाले चासो दिन आवश्यक रहेको मालिकागाउँपालिका–४ स्थित नेपाल मगर सङ्घ इकाइ समिति ओखरबोटका अध्यक्ष तुलप्रसाद पुनले जानकारी दिए ।
सोरठीमा मारुनीले चोली, धरो, रुमाल, चुरापोते, टीका आदि लगाउने गर्छन् । ठाउँ अनुसार पुरुसुङे पनि मादले र मारुनीको साथमा नाच्दछ । पुरुसुङले दौरा सुरुवाल, स्टकोट लगाएका हुन्छ भने मारुनीले कम्पनी माला र शिरमा सेली पहिरिएका हुन्छन् ।सोरठी नाचमा दैवी शक्ति रहेको विश्वास गरिन्छ ।समाजमा सानो, ठूलो, जातभात, धनी ,गरिब नभनिकन सबै मिलेर गाइने र नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको संरक्षण अभियन्ताले बताए ।
युवा पुस्ताले यो नाच सिक्न चाहेर पनि समय अभावले पुस्तान्तान्तरण हुन नसकेको नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति अध्यक्ष डकमाया पाइजाले बताइन् । जिल्लाका अधिकांश मगर बस्तीमा नाचिने यो नाच संरक्षण र प्रवद्र्धनका लागि अहिले मगर समुदायका युवा जुटेका छन् । युवा पुस्तामा मौलिक संस्कार हस्तान्तरण हुन आवश्यक रहेको उनको भनाइ थियो । “सोरठी मौलिक संस्कार संस्कृति मात्र नभइ हाम्रो पहिचान पनि हो । यसको संरक्षण र प्रवद्र्धनमा राज्यले चासो दिनुपर्छ,” अध्यक्ष पाइजाले भनिन् ।
लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको सङ्गीत र लयको बारेमा पछिल्लो पुस्ताले सिक्न आवश्यक रहेको अधिवक्ता मनोज घर्तीगरले बताए । “यो नाच नेपालकै परम्परागत नृत्य हो । नयाँ पुस्ताले यो नाच सिक्न आवश्यक छ,”उहाँले भन्नुभयो,“यसको संरक्षण र पुस्तान्तरणमा अग्रजले युवालाई पुराना ज्ञान सिकाउन जरुरी छ ।”
जिल्लामा सोरठीको संरक्षण र प्रचारप्रसारका लागि केही सोरठी संरक्षण समिति बनेका छन् । समुदायमा प्रचलित सोरठी नाचको संरक्षण र जगेर्ना गर्नका लागि आफूले गाउँपालिकाबाट योजना बनाएर सहयोग उपलब्ध गराउने धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । “यो नाच मगरसमुदायको मात्र नभइ साझा मौलिक संस्कार हो”, उनले भने,“सोरठी नाच संरक्षण, जगेर्ना र प्रवद्र्धन गर्न सोरठी संरक्षण समितिसँग छलफल गरेर आवश्यकताअनुसार सहयोग गर्ने योजना बनाएको छु ।”
जिल्लाका अधिकांश ठाउँमा अतिथिको सत्कारमा सोरठी नाच्ने गरिएको छ । सोरठी गाउने र नाच्नेलाई दान दिने र सोही दानले कलाकारले खर्च चलाउने चलन परापूर्वकालदेखि रहँदै आएको छ ।