सोमालियामा अल सेबाबका चालिस आतङ्ककारी मारिए



सोमालियामा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यहाँका अल सेबाब आतङ्ककारी सङ्गठनका ४० जना आतंककारीको मृत्यु भएको जनाएको छ ।सोमालियाली सेनाले सो कुराको जानकारी दिएको हो । बिहीबार यहाँको मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकाहरु मारिएका बताइएको हो ।

सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार यहाँको राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन् । सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका बताइएको छ । त्यसक्रममा अल सेबाब आतङ्ककारी सङ्गठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ ।


कारबाहीका क्रममा यहाँको सेनाका कमाण्डर पनि मारिएका छन् । उनलाई अल सेबाब संगठनका आतङ्ककारीले गोली हानेका थिए । हिरान क्षेत्रमा अल सेबाबका लडाकाहरुले विगत लामो समयदेखि आतङ्क मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरुमाथि यहाँको सेनाले कारबाही थालेको बताइएको छ ।