काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताएका छन् ।
सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा बिहिबार आयोजित नेपालका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक’ लोकार्पण कार्यक्रममा उनले नौ दशक लामो आयु बाँच्नुभएका स्व थापा नेपाली राजनीतिमा सम्झनायोग्य नेताहरूहरूमध्ये एक रहनुभएको उल्लेख गरे ।
प्रधामन्त्री देउवाले भने, “सूर्यबहादुर थापा नेपालको राजनीतिक इतिहासमा सुपरिचित र सुप्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ । मुलुकको राजनीतिलाई आफ्नो विचार एवं दूरदृष्टि अनुरूप सञ्चालन एवं प्रभावित गर्न सक्ने उहाँ एक कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो ।”
उनको कार्यकालमा मुलुकमा विभिन्न महत्वपूर्ण सुधारात्मक कार्यक्रमहरू कार्यान्वयनमा आएको उल्लेख गदै प्रधानमन्त्री देउवाले मुलुककै इतिहासमा पहिलो पटक जनमत सङ्ग्रह उहाँकै प्रधानमन्त्रीत्व कालमा भएको बताए । नेपाली राजनीतिको अनेक आरोह–अवरोह भोग्नुभएका स्व थापाको आत्मकथा नेपालको राजनीति र इतिहास बुझ्नका लागि एउटा रोचक र गतिलो कृति हुने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
“धनकुटाको ग्रामीण परिवेशमा जन्मिई अनेक सङ्घर्ष झेल्दै मुलुकको राजनीतिको उच्च पदसम्म पुग्न सफल थापाले जीवनमा गरेको सङ्घर्ष र भोगेको दुःख सुखका कथाहरू यो आत्मकथामा समेटिएको छ । यो कृतिमा वरिष्ठ राजनीतिज्ञ थापाले आफ्नो बाल्यकाल, युवावस्था र प्रौढावस्थामा भोगेका, देखेका र संलग्न भएका महत्वपूर्ण घटनाक्रमहरूलाई समेटिएको छ । यो आत्मकथा आजका नयाँ पुस्ताका राजनीतिकर्मीहरूका लागि रोचक, ज्ञानबद्र्धक र प्रेरणादायी कृति हुने विश्वास मैले लिएको छु”, प्रधानमन्त्री देउवाले भने ।
उक्त कृतिमा दोस्रो विश्वयुद्ध, भारतीय स्वतन्त्रता सङ्ग्रामलगायतका अन्तर्राष्ट्रिय परिघटनाहरूदेखि नेपालको २००७ सालको राजनैतिक क्रान्ति, २००७ देखि २०१७ सालसम्मको राजनैतिक सङ्क्रमण, पञ्चायतकालीन राजनीतिक व्यवस्था, २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन र बहुदलको घोषणा, माओवादी द्वन्द्व, २०६२÷६३ सालको दोस्रो जनआन्दोलन र संविधानसभाको उतारचढावसम्मका घटनाको वर्णन र विश्लेषण गरिएको छ ।
पुस्तकमा स्व थापाले आफू मन्त्री तथा प्रधानमन्त्री हुँदाको परिस्थिति र त्यो समयमा के कस्ता राजनीतिक निर्णय गरियो, त्यसमा कर्मचारीतन्त्रको साथ र सहयोग कसरी लिइयो, सुरक्षाकर्मी कसरी परिचालित गरियो, राजनीतिक परिचालन कसरी गरियो भन्नेलगायतका कुरा पनि समेटिएको हुँदा यो कृति राजनीतिक व्यक्तिहरूका साथै प्रशासक तथा सुरक्षाकर्मीहरूका लागि उत्तिकै रोचक हुने प्रधानमन्त्री देउवाले बताए । यस कृतिको प्रकाशनबाट नेपालको राजनीतिक इतिहासमा खुल्न बाँकी धेरै तथ्यहरू बाहिर प्रकाशमा आई त्यतिबेलाको इतिहासलाई बुझ्न सबैलाई सहयोग पुग्ने उनको भनाइ थियो ।