सीट बाँडफाँट टुंग्याउने सत्ता गठबन्धनको तयारी



काठमाडौँ । सत्ता गठबन्धनको कार्यदलले नसकेपछि शीर्ष नेता नै सीट बाँडफाँट टुंगो लगाउने तयारीमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने सहमति गरिसकेको छ। त्यसका लािग सीट बाँडफाँट गर्न कार्यदल गठन गरेको छ ।

तीन सातादेखि छलफलमा रहेको कार्यदलले सीट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन। कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेता नै सीट बाँडफाँटको टुंगो लगाउने तयारीमा जुटेका हुन् । यसका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ। आजको बैठकबाट सीट बाँडफाँट टुंग्याउने तयारी गरिएको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।


बुधबार पनि गठबन्धनको बैठक बसेको थियो। बुधबारको बैठकमा सीट बाँडफाँटका विषयमा व्यापक छलफल भएको नेता कार्कीले बताए । उनका अनुसार आजको बैठकबाट सीट बाँडफाँट टुंगो लगाउने सहमति बनेको छ। त्यस्तै, भदौ २० गतेभित्र निर्वाचन क्षेत्रको पनि टुंगो लगाइने भएको छ।