सिन्धुलीको कुप्रीडाँडामा बिजुली बल्यो



सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरूको बाध्यता हटेको छ । 

कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर–घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका-१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए । विद्युत् विस्तारपछि सो वडाका झण्डै दुई सय परिवार लाभान्वित भएका छन् ।


चालु आर्थिक वर्षको प्रारम्भदेखि वडा नं १३ को विद्युत् विस्तार थालिएको हो । भौगोलिक विकटताका कारण एकैपटक वडाभरि विद्युत् विस्तार गर्न नसकिएको खड्काले बताए । नेपाल विद्युत् प्राधिकरण र स्थानीय सरकारले दुधौलीमा पछिल्लो विद्युत् विस्तार थालेको छ । बाँकी रहेका अरुनडाँडा, पोखरी, च्यामालगायत क्षेत्रमा पनि विद्युत् विस्तारको पहल भइरहेको उनले बताए ।