सिचुआन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ७४ पुग्याे, २६ बेपत्ता



चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् । मङ्गलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएका बताएको छ ।

यान सहरमा मङ्गलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ जना घाइते भएका सहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ । सिचुआन प्रान्तको प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएका बताइएको छ । त्यसको नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।


भूकम्पको केन्द्रबिन्दू सिचुआन प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । सो भूकम्प १० किलोमिटर गहिराइमा तथा ६।८ म्याग्निच्युडको रहेको पनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले जनाएको छ । भूकम्पका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ । भूकम्पले भत्काएकाले यहाँबाट अर्को शहरमा जाने बाटो पनि अवरुद्ध भएको छ । त्यसैगरी मानिसको बसोबास रहेका कैयौँ क्षेत्रमा दूरसञ्चारका लाइनहरू काटिएकाले सञ्चार सम्पर्क पनि विच्छेद हुन पुगेको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार गएकोे भूकम्पका पीडित र प्रभावितको उद्धार कार्य चुस्त रुपमा गर्न निर्देशन दिएका छन् । उनले यस कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र भूकम्पका प्रभावितहरुको उद्धार र राहातको काममा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन् ।