सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधि टोलीबीच भेटवार्ता 



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल सालमोन नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार सभामुख सापकोटालाई भेटेको हो ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।


भेटका क्रममा सभामुखले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको पनि प्रशंसा गरेका थिए । जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै सभामुख सापकोटाले यसको मिलेर सामना गर्नुपर्नेमा पनि फ्रान्सेली संसदीय मण्डलसँगको छलफलमा जोड दिएका थिए ।

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल सालमोनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिएका थिए । उनले नेपालले वातावणको क्षेत्रमा गरेको काम सह्रानीय रहेको बताएका थिए । फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग पनि भेट गरिसकेको छ ।