धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिको रक्षा गर्ने अभिभारा आफ्नो पार्टीको काँधमा आइपुगेको बताएका छन् ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिलाई समाप्त गर्न विभिन्न प्रतिक्रियावादी शक्ति अझै सल्बलाइरहेको बताए ।
अध्यक्ष दाहालले अहिलेसम्मका सबै प्राप्त उपलब्धि माओवादीकै कारणले भएकाले त्यसको रक्षा गर्नुपर्ने बताए । उनले आउँदो निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीबाट नाम सिफारिस गर्दा पार्टीको संस्थागत निर्णयबमोजिम गर्नुपर्ने बताए । कसैले पनि आफ्नो खल्तीबाट नाम सिफारिस गरेको भए त्यो सिफारिस पार्टीलाई मान्य नहुने उनको भनाइ थियो ।
अध्यक्ष दाहालले बुधबारसम्ममा सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताए । सत्ता गठबन्धन दलहरुबीच सम्मानजनक सिट बाँडफाँट हुने उनको भनाइ थियो ।