संसद् अन्त्य भएसँगै जबराविरूद्धको महाभियोग स्वतः अन्त्य भयो : ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सफाई दिएको बताएका छन् । आइतबार सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले महाभियोग प्रस्तावमा बिलम्ब गरेर सत्तापक्षले जबरालाई सफाइ दिएको बताएका हुन् ।

अध्यक्ष ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घर घेरेर र उनलाई नजरबन्दमा राखेर तमासा गरेको टिप्पणीसमेत गरेका छन् ।


‘हिजो संसद्को अधिवेशन सकियो र संसद्को कार्यकालै सकियो । महाअभियोग पारित भएन । दर्ता भयो र पारित भएन भनेपछि कुरा सकियो । त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो । आफैँ विलम्ब गरेर, प्रक्रिया अगाडि नबढाएर सफाइ दियो । आफैँले खनेको खाल्डोमा आफैँ परेर सफाइ दियो’ उनले भने ‘तीन महिनाभित्र यो प्रश्न टुङ्ग्याउनुपर्ने हुन्छ । कुनै पनि प्रस्तावको कार्यकाल हुन्छ । अवधि हुन्छ । संसदीय प्रक्रियाको प्रस्तावहरू कहिलेसम्ममा टुङ्ग्याउने भन्ने हुन्छ । सेना–प्रहरी हातमा छ भनेर जे पनि गरे हुन्छ ? मान्छेको घर घेर्ने, नजरबन्द बनाउने, तमासा गर्ने हो ? लोकतन्त्रमा अभियोग पुष्टि नभएपछि प्रधानन्यायधीशले के गर्ने ?’