संरक्षण अभावका कारण प्राकृतिक कालरुवा ताल पुरिँदै



दिपायल । संरक्षणको अभावमा बडीकेदार गाउँपालिका– ४ मान्नकापडीमा रहेको कालारुवा ताल पुरिँदै जान थालेको छ । परापूर्वकालमा कुन्तामाता भगवतीको बासस्थानका रुपमा रहेको कालारुवा ताल उच्च  लेकाली भेगमा भएकाले  संरक्षणका लागि अहिलेसम्म कसैको ध्यान नगएको र गाउँपालिकाले पनि संरक्षणका लागि कुनै योजना नबनाउँदा अहिले पुरिँदै जान थालेको हो ।

पहिले ताल जति सुन्दर देखिन्थ्यो तर  अहिले विस्तारै संरक्षणको अभावमा सङ्कटमा पर्दै गएको स्थानीयवासीको भनाइ छ । उच्च लेकाली भेगमा रहेको यो तालमा कसैले महत्व नदिएका कारण ओझेलमा परेको कालारुवा सामुदायिक वनका अध्यक्ष उज्वल धामीले बताए । उचित संरक्षण नहुँदा वरपरको  माटो–ढुङ्गा पनि खस्न थालेपछि तालको क्षेत्रफल खुम्चिँदै गएको उनको भनाई छ  ।  दुई सय वर्षअघिदेखिको यो ताल बाह्रै महिना कालो रङको देखिने अध्यक्ष धामी बताउँछन् ।


पर्यटकको सम्भावना रहेको  यो कालारुवा तालको कसैले पनि संरक्षण तथा प्रवद्र्धनका लागि पहल नगरेका कारण ओझेलमा परेको मान्नकापडीका टेकेन्द्र धामी उल्लेख गर्छन् । उनि भन्छन् । “पहिले ताल ठूलो थियो, पानी जमेको हेर्दा राम्रो लाग्थ्यो, अहिले विस्तारै पुरिँदैछ र तालको आकार पनि घट्दै जान थाल्दा पनि संरक्षण र व्यवस्थित गर्न स्थानीय सरकारको ध्यान गएको छैन ।

कालारुवा ताल संरक्षणका लागि बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयले सडकसँगै व्यवस्थापन कार्य अगाडि बढाउने तयारी गरेको छ । प्राकृतिक ताललाई पुरानै अवस्थामा फर्काउनका लागि  सबै निकायसँग समन्वय गरी योजना बनाउन लागिएको वडाध्यक्ष कर्णबहादुर जेठारा बताउँछन् । “ताल संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आवश्यक बजेट विनियोजन गरेका छौँ”, उनि भज्छन् । “पहिलो प्राथमिकता ताल संरक्षण गर्ने र दोस्रो प्राथमिकतामा ताल क्षेत्रसम्म पुग्ने सडक सञ्जाल जोडिने छ ।”

ताललाई पुरानै अवस्थामा ल्याइएपछि ताल वरिपरि पर्यटकलाई हिँड्नका लागि बाटो निर्माण, विभिन्न देवताका मूर्ति निर्माणसँगै  कुन्तामाता भगवतीको मन्दिर बनाउने योजना रहेको र सोहीअनुसार कार्य अगाडि बढाइने उनले बताए । उक्त गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको अध्ययनसँगै पालिकाकाबाट बजेट विनोयोजित गरी संरक्षण तथा प्रवद्र्धन गरिने गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद उल्लेख गरे ।

“पहिलो प्राथमिकता यस क्षेत्रमा भएका सबै धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन गर्ने त्यसपछि प्रचारप्रसार गरी समृद्ध बडीकेदार बनाउने योजना रहेको उनको भनाई छ । यस क्षेत्रका कालारुवा ताल मेलघटी देऊ, मोहन्याल मन्दिर, चोड्याल मन्दिरलगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थल तथा तालहरु संरक्षणको अभावमा ओझेल पर्दै आएका छन् ।