श्रमशक्ति अभाव पूर्ति गर्न अस्ट्रेलियाले आप्रवासनसम्बन्धी सीमा बढायो



अस्ट्रेलियाले देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ ।

चालु आर्थिक वर्षमा अस्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५ हजारले बढाउँदै कुल एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति दिने भएको छ । कोभिड महामारी र सीमासम्बन्धी अस्ट्रेलियाको कडा नीतिका कारण धेरै क्षेत्रमा कर्मचारीको अभाव बढेको छ ।


अस्ट्रेलियामा चीन, भारत र ब्रिटेनजस्ता देशबाट धेरै आप्रवासन हुन्छ। सरकारले तिनै देशबाट कामदारको आपूर्ति गर्न आवश्यक रहेको बताएको छ ।

अहिले देशभरि विभिन्न किसिमका जागिरका लागि चार लाख ८० हजार पदहरू रिक्त छन् । अस्ट्रेलियामा बेरोजगारी ५० वर्षयताकै सबैभन्दा कम हुँदा रोजगारदाताहरू कामदारको अभावका कारण उत्पन्न खाडल पुर्न सङ्घर्ष गरिरहेका छन् ।

पर्यटन तथा आतिथ्य, स्वास्थ्य सेवा, कृषि र सीपयुक्त दक्ष कामदार चाहिने उद्योगहरू बढी प्रभावित भएका छन् । क्यान्बरामा गत साता भएको राष्ट्रिय रोजगार सम्मेलनका क्रममा कामदारको अभावले विमानस्थलहरू अस्तव्यस्त बनेका, फलफूल बोटमै कुहिन थालेको र अस्पतालहरूमा ठूलो दबाव उत्पन्न भएको बताइएको थियो ।

सन् २०१० को मध्यमा अस्ट्रेलियामा स्थायी आप्रवासन प्रतिवर्ष लगभग एक लाख ९० हजार पुगेको थियो । त्यो सन् २०१७ ताका घट्यो। किनभने त्यस बेला आप्रवासन राजनीतिक विवादको विषय बन्न पुगेको थियो ।

तर व्यापारी, युनियनमा संलग्न व्यक्तिहरू तथा प्रतिपक्षी दलका नेताहरूले थप आप्रवासी आवश्यक पर्नेमा जोड दिएका थिए । उनका अनुसार अहिले अस्ट्रेलिया प्रतिभाको खोजी गर्ने लडाइँमा भएको देखिने प्रणालीबाट बाहिर निस्किरहेको छ।