वरिष्ठ संगीतकार शुभबहादुर सुनामको निधन



काठमाडौँ । वरिष्ठ संगीतकार शुभ बहादुर सुनामको निधन भएको छ । सोमबार बिहान साढे ४ बजे उनको निधन भएको हो । काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका उनको ७४ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए ।

५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्रिय थिए । स्याक्सोफोनमा उनको विशेष दख्खल थियो । उनले अघिल्लो पुस्ताका नारायणगोपाल, तारादेवी, प्रेमध्वाज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायक गायिकासँग काम गरेका थिए । सुनामले नेपाली सेनामा पनि लामो समय काम गरेका थिए ।


उनी नेपाली सेनामा सहायक रथीसम्म पुगेर जनताको सेवा गरेका थिए । उनी सफल संगीतकार, रचनाकार र एरेन्जर पनि हुन् । उनको संगीतमा मीरा राणाले गाएको गीत ‘फूलै फूलको मौसम तिमीलाई’ र दीप श्रेष्ठले लाएको ‘हुँ यात्री एउटा’ गीत सदावहार मानिन्छन् । नारायणगोपालको स्वर रहेको ‘तिमीले भनेका सारा देव छोएर’ उनको कालजयी संगीत हो ।