‘रूख’ मा भोट हाल्न पाउनुपर्ने भन्दै १३ जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन पत्र



काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भोट हाल्न पाउनुपर्ने भन्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार वाग्मती प्रदेशका १३ जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कांग्रेसका नेता–कार्यकर्ताहरूले रुख चिह्नमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको अधिकारीले जानकारी दिए ।


अधिकारीले भने,‘ मतदाताले मतपत्रमा प्रत्यक्षतर्फ नै रुख चुनाव चिन्ह रोज्न पाउनुपर्छ । रुख चुनाव चिह्नबिनाको मतपत्र हुनु पार्टीका लागि राम्रो होइन । हामीले सबै क्षेत्रका जनताले कांग्रेसलाई रोज्न पाउनुपर्ने माग सभापतिसमक्ष राखेका छौँ ।’

वाग्मतीका चितवन निर्वाचन क्षेत्र नम्बर–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–८, काठमाडौं–२, रामेछाप, मकवानपुर–१, नुवाकोट–१ र ललितपुर–१ को सिट कांग्रेसले गठबन्धनका अरू दलहरूलाई छाड्नुपर्नेछ ।

सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी गराएका हुन् ।

कांग्रेसले आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने भन्दै रुखभन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराएको अधिकारीले बताए । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भइहाल्छ मात्र भनेको अधिकारीले जानकारी दिए ।