रुसले नियन्त्रणमा लिएका केही बस्तीहरूमा फेरि युक्रेनको कब्जा



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गरेका छन् । जेलेन्स्कीले कुन ठाउँहरू पुनः आफूले कब्जा गरेको भन्नेबारे जानकारी दिएनन् ।

पूर्वी खार्किभ क्षेत्रमा सम्भावित सफलताको बारेमा केही दिनदेखि चर्चा भइरहेको छ तर युक्रेनी अधिकारीहरूले यसबारे कुनै जानकारी दिएका छैनन् ।


अमेरिकी अधिकारीहरूले भने युक्रेनले रुसी सेनाहरू विरुद्ध विस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेको बताएका छन् । राति प्रसारण भएको भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने,’मलाई लाग्छ कि हरेक नागरिकले हाम्रा सेना प्रति गर्व महसुस गर्छन्।’

सम्बोधनको क्रममा उनले विशिष्ट सैन्य एकाइहरूको नाम लिए र लडाइँमा उनीहरूले देखाएको बहादुरीको प्रशंसा गरे । तर उनले भनेः ‘अहिले नै युक्रेनी झन्डा पुनः फहराउने बस्तीहरूको नाम भन्ने समय होइन।’

युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिणमा धेरैले अपेक्षा गरेको प्रत्याक्रमणको बारेमा केही विवरण सार्वजनिक गर्दै आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ । युक्रेनी सैनिकहरूले खार्किभको दक्षिण–पूर्वमा, डोनेट्स्कको पूर्वी क्षेत्रतर्फ आक्रमण सुरु गरेका छन्।

ती क्षेत्रमा ६ महिना अघि युद्ध सुरु भएदेखि रुसले पर्याप्त सैन्य नियन्त्रण कायम राखेको छ । केही विवरणहरूका अनुसार युक्रेनी सेना इज्युम सहरबाट केही किलोमिटर टाढा हुन सक्छन्। उक्त सहर रुसको सैन्य आपूर्ति शृङ्खला जोड्ने महत्वपूर्ण स्थान हो।