रुसको विशाल तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर ज्यान गएको छ । कम्पनीले उनको मृत्युको पुष्टि गरेको छ। उनी ६७ वर्षका थिए ।रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोस्थित सेन्ट्रल क्लिनिकल अस्पतालमा उनको उपचार भइरहेको थियो र उनको चोटपटकका कारण मृत्यु भएको छ ।
रुसमा चर्चित व्यापारीहरूको रहस्यमय परिस्थितिमा मृत्यु भएका शृङ्खलाबद्ध घटनामा म्यागानोभको मृत्यु पछिल्लो घटना हो । अनुसन्धान अधिकारीहरूले उनको मृत्युको कारणबारे जान्ने प्रयास भइरहेको बताएका छन् । समाचारसंस्था तासका अनुसार बिहीबार बिहान अस्पतालको छैटौँ तल्लाको झ्यालबाट उनी खसेका थिए। पछि उक्त समाचारसंस्थाले उनले आत्महत्या गरेको उल्लेख गरेको थियो ।
रुसले युक्रेन आक्रमण गरेलगत्तै लूकओइलको सञ्चालक समितिले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्न आह्वान गरेको थियो। उसले पीडितहरूप्रति सहानुभूति पनि प्रकट गरेको थियो । कम्पनीका अर्बपति अध्यक्ष भ्यागिट आलेकपेरोभले अप्रिलमा ब्रिटेनले उनीविरुद्ध आर्थिक प्रतिबन्ध लगाइदिएपछि राजीनामा दिएका थिए ।
पछिल्ला महिनाहरूमा रुसका कैयौँ अग्रणी ऊर्जा व्यापारीहरूको अस्वाभाविक परिस्थितिमा ज्यान गएको छ । नोभाटेकका पूर्वव्यवस्थापक सेर्गेइ प्रोटो सेन्या, उनकी पत्नी र छोरीको शव अप्रिल महिनामा एउटा स्पेनी भिलामा फेला परेको थियो । ग्याजप्रोम बैंकका पूर्वउपाध्यक्ष भ्लादिस्लाभ अभायभको शव पनि उनकी पत्नी र छोरीसँगै अप्रिलमै मस्कोस्थित उनीहरूको घरमा फेला परेको थियो ।
मे महिनामा लूकओइलका पूर्वप्रमुख अलेक्सान्डर सुबोटिनको हृदयाघातका कारण ज्यान गएको थियो । लूकओइल रुसको सबभन्दा ठूलो निजी कम्पनी हो । म्यागानोभको क्षमताकै कारण कम्पनी विश्वकै ठूला ऊर्जा कम्पनीमध्ये एक बन्न पुगेको कम्पनीले जनाएको छ ।
उनले उक्त निजी तेल कम्पनीमा सन् १९९३ देखि काम गरेका हुन् । दुई वर्षअघि उनी त्यसका अध्यक्ष नियुक्त भए। तीन वर्ष अघि उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिष्ठित पुरस्कार दिएका थिए।