‘रिफ्रेस सेन्टर’ प्रयोगविहीन



त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले सञ्चालन गरिएको ‘रिफे्रस सेन्टर’ अहिले प्रयोगविहीन बनेको छ । 

रातिका समयमा लामो दूरीका सवारी चालकलाई आराम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले रिफ्रेस सेन्टर सञ्चालन गरको थियो । तर, कोभिड महामारीका कारण बन्द ‘रिफ्रेस सेन्टर’ अहिलेसम्म पुनःसञ्चालनमा आउन सकेको छैन । कोभिड महामारीका समयमा मानिसको भिडभाड बढ्दा थप जोखिम हुने भन्दै ‘रिफ्रेस सेन्टर’ बन्द गरिएको थियो । 


‘रिफ्रेस सेन्टर’ मा रातिको समय ११ देखि ४ सम्म राजमार्गमा चल्ने लामो दूरीका सवारीलाई कम्तीमा १५ मिनेट रोकेर चालकको स्वास्थ्य परीक्षण, दुई जना चालक भए नभएको जाँच, यात्रुसँग चालकको आनिबानीबारे जानकारी लिने काम हुँदै आएको थियो । स्वास्थ्य जाँचसँगै चालकलाई आराम गर्ने कक्षको व्यवस्थासमेत गरिएको थियो । 

राति चालक निदाएर हुने दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी मानिएको ‘रिफ्रेस सेन्टर’ पुनःसञ्चालनको विषय अहिले अन्योल रहेको छ । बन्द भएको ‘रिफ्रेस सेन्टर’का विषयमा छलफल चलेको भए पनि तत्काल सञ्चालनका लागि कुनै प्रक्रिया अघि नबढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले बताए । 

अहिले पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड निर्माणमा क्रममा जीर्ण रहेकाले सवारीलाई यस खण्डमा यात्रा गर्न लामो समय लाग्ने हुँदा थप रोकेर राख्न समस्या भएकाले रिफ्रेस सेन्टर सञ्चालनको विषय अन्योल रहेको उनले बताए । ‘बाटो जीर्ण छ, यसै यो बाटो पार गर्न सवारीलाई धेरै समय लाग्छ, फेरि राति रोकेर राख्न कति सान्दर्भिक हुन्छ भन्ने हो’, सूचना अधिकारी पुरीले भने । 

‘रिफ्रेस सेन्टर’मा सवारी नरोके पनि राजमार्गमा रहेको विभिन्न ट्राफिक पोष्टमा दुई वटा चालक भए नभएको र अन्य सवारी नियम पालना गरे नगरेको भन्ने विषय नियमित गर्ने गरेको उनले बताए । राजमार्गमा यातायात सञ्चालनमा सहज भएपछि भने रिफ्रेस सेन्टर पुनःसञ्चालन गर्न सकिने उनको भनाइ छ । तर, अहिले नै सञ्चालनको विषयमा कुनै निर्णय नभएको सूचना अधिकारी पुरीले बताए ।