राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने



काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।

शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्र बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।


समझदारीमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे । आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ ।

सम्झौता हस्तारक्षर कार्यक्रमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत उपस्थित थिए । हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने बताए । उनले देशको अर्थतन्त्र बढ्न उद्यमीहरुले बढाएर उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको बताए ।

पुनले लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रसँग भएको सम्झौता अनुसार ४० लाख रुपैयाँको सिन्के धुप र दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाउने योजना रहेको बताए ।

उनले सिन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने बताए । उनले सम्झौता अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म सबै काम सक्ने बताए । समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ ।