काठमाडौँ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा १५ देखि १७ भदौसम्म सञ्चालन भएको संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी भएर महरानिरीक्षक सिंह शनिबार बेलुका स्वदेश फर्किएका हुन् ।
प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरे ।
विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्रसंघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र ‘शान्ति स्थापनाका लागि कार्य’ को कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको जानकारी दिए ।
उनले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको बताए । महानिरीक्षक सिंह भदौ १३ गते अमेरिका गएका थिए।
महानिरीक्षक सिंहसँगै सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटासमेत टोलीमा सहभागी थिए ।