राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मोरङका ९५ विद्यालय छनोट



माेरङ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मोरङका ९५ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मोरङका ९५ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।

मन्त्रालयले मोरङका स्थानीय तहलाई गरेको परिपत्रअनुसार मोरङको उर्लावारी नगरपालिकाका छ वटा, कटहरि गाउँपालिकाका तीन, कानेपोखरी गाउँपालिकाका छ, बेलवारी ननगरपालिकाका पाँच र ग्रामथान गाउँपालिकाका छ वटा विद्यालय छनोट भएका छन् । त्यस्तै जहदा गाउँपालिकाका चार, धनपालथान गाउँपालिकाका चार, पथरी शनिश्चरे नगरपालिकाका पाँच र विराटनगर महानगरपालिकाका १४ विद्यालय छनोट भएका छन् ।


केन्द्रले बुढीगङ्गा गाउँपालिकाका चार, बेलवारी नगरपालिकाका छ, मिक्लाजुङ गाउँपालिकाका छ, रतुवामाइ नगरपालिकाका पाँच, रङ्गेली नगरपालिकाका चार, सुनवर्षी नगरपालिकाका पाँच, सुन्दरहरैंचा नगरापलिकाका सात र लेटाङ नगरपालिकाका चार विद्यालय छनोट गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तार, आइटी ल्याव स्थापनालगायत कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेका विद्यालयमध्येबाट भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागी गराउने विद्यालयको नाम छनोट गरेको थियो ।