राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैनः त्रिपाठी



काठमाडौँ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्नुको विकल्प नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै त्रिपाठीले नागरिकतासम्बन्धि संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नका लागि बनेको विधेयक राष्ट्रपतिबाट दोस्रो पटक पनि प्रमाणिकरण नभए मुलुकमा दूर्भाग्यपूर्ण अवस्था आउने चेतावनी दिए ।


विधेयकमा संविधानको धारा ११ को उपधारा ३ कार्यान्वयनको मात्रै व्यवस्था गरिएकाले त्यसलाई राष्ट्रपति भण्डारीले पहिलो पटक पुनर्विचार गर्न पाउने व्यवस्था भएपनि दोस्रो पटक सो सुविधा नभएको उनले बताए ।

उनले भने,‘हाम्रो संविधान अनुसार संसदले पारित गरेको विषय एक पटक पुनर्विचारका लागि पठाउन सक्ने व्यवस्था छ । तर, यदि दोस्रो पटक संसदले कुनै पनि विधेयक पारित गर्छ भने त्यो बेलायती मोडल अनुसार त्यसलाई प्रमाणिकरण गर्न बाहेक अन्य विकल्प छैन ।’

अध्यक्ष त्रिपाठीले  विधेयकमा गैरआवासीय नेपालीहरुलाई राजनीतिकबाहेक अन्य अधिकार दिने गरी नागरिकता दिने व्यवस्था  पनि संवैधानिक भएकाले त्यसलाई अन्यथा ठान्ने र राजनीतिकरण गर्न खोज्न नहुने बताए ।