राष्ट्रपतिलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपतिलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै  उपराष्ट्रपतिले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।


उनले संविधानको प्रमुख पालक र संरक्षकबाटै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनेर आजाव उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद भएको बताएका छन् ।

‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ’, उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’