राष्ट्रपतिको कदमले नेपालको लोकतन्त्रमा कालो बादल मडारियोः पूर्वराष्ट्रपति यादव



जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका छन् ।

बुधबार जनकपुरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरेर संविधानको उल्लंघन गरेको बताएका हुन् ।


उनले प्रतिनिधिसभा विघटन गरेर पहिलो चोटी संविधान उल्लंघन गरेकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरेर फेरि संविधान उल्लंघन गरेको भन्दै आपत्ति जनाए ।

उनले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरुको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे ।

पूर्वराष्ट्रपति यादवले राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली जनतालाई सजग भएर लाग्न आग्रह गरे ।

उनले भने,‘धेरै भन्न चाहन्न कि संविधान फेरि उल्लंघन भएको छ । २/२ चोटी लोअर हाउस र अपर हाउसबाट पास भएर सम्माननीय राष्ट्रपतिबाट पहिलो चोटी सन्देशसहित फर्काउने काम भयो । तर, दोस्रो चोटी फर्काउन मिल्ने अवस्था नै थिएन । उहाँले बेलायतको परम्परा हुर्नुपर्ने, भारतको परम्परा हेर्नुपर्ने, अमेरिकाको परम्परा हेर्नुपर्ने, विद्वान संविधानविद्, कानुनविद्हरुसँग छलफल गर्नुपर्ने र त्यस अनुसार मनन् गरेर त्यो विधेयक प्रमाणीकरण गर्नुपर्ने थियो । तर, आज फेरि नेपालको लोकतन्त्रमा एउटा कालो बादल मडारिएको छ । म सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु–यो संविधानलाई बचाएर लैजानु पर्दछ । यसो गर्न सकिएन भने हामी फेरि प्रतिगमनमा जान्छौं ।’

यादवले केपी ओली नेतृत्वको सरकारले संविधान विपरीत प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरि पनि संविधान बचाउन पहल गर्नुपर्ने बताए ।