राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग



जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दर्खास्त आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेको सिफारिस समितिले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी असोज ६ गतेभित्र आवेदन दिन सूचना जारी गरेको हो ।

उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा स्नातकोत्तर उपाधि प्राप्त गरेको, उच्च शिक्षाको प्राध्यापक भई काम गरेको, विश्वविद्यालयको शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन, सहायक डीन, केन्द्रीय विभागको प्रमुखजस्ता व्यवस्थापकीय तथा शैक्षिक प्रशासनसम्बन्धी पदमा कम्तीमा एक कार्यकाल पूरा गरेको, प्राज्ञिक अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको, उपकुलपति पदको निर्धारित कार्यकाल समाप्त हुँदाका बखत ६५ वर्ष उमेर पूरा नभएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।


यस्तै गैरकानूनी काममा संलग्न नभएको र विश्वविद्यालयसँग संस्थागतरूपमा कुनै स्वार्थ नबाझिएको विषय पनि आवश्यक योग्यतामा राखिएको छ । इच्छुक उम्मेदवारले बढीमा तीन÷तीन हजार शब्दका विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन) र चारवर्षे व्यावसायिक कार्ययोजना अलगअलगरूपमा पेश गर्नुपर्नेछ ।

विसं २०७४ मा सो विश्वविद्यालयसम्बन्धी ऐन जारी भई प्रा भरत झा पहिलो उपकुलपतिमा नियुक्त हुनुभएको थियो । उक्त ऐनमा उपकुलपति पदमा नियुक्तिका लागि सिफारिस गर्न कुलपति (प्रधानमन्त्री) ले सभाका सदस्यमध्येबाट नेपाल सरकारको शिक्षा विषय हेर्ने मन्त्रालयको सचिव र कम्तीमा एक जना महिलासमेत रहनेगरी तीन सदस्यीय एक समिति गठन गर्ने व्यवस्था गरेको छ । समितिले सिफारिस गरेको तीन जनामध्येबाट कुलपतिले उपकुलपति नियुक्त गर्नुपर्नेछ ।

कला, विज्ञान, चिकित्साशास्त्र, कृषि, वन, पर्यटन, आयुर्वेद, कानून, व्यवस्थापन, शिक्षा, प्राच्य दर्शन, प्राविधिक, व्यावसायिक तथा अन्य विषयमा अध्ययन, अध्यापन र अनुसन्धानद्वारा गुणात्मक र स्तरयुक्त उच्च शिक्षाको अवसर सबै क्षेत्रका जनतालाई सुलभरूपमा उपलब्ध गराउन नेपाल सरकारको लगानीमा सो विश्वविद्यालयको स्थापना भएको हो ।

विश्वविद्यालयले राष्ट्रिय विकासमा दक्ष जनशक्तिको आपूर्ति गर्न र बहु विश्वविद्यालयको अवधारणाअनुरूप प्रतिस्पर्धाका आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्घि गर्दै देशको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउने लक्ष्य लिएको छ ।