यो युद्धको लागि उचित समय होइन ः भारतीय प्रधानमन्त्री मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताएका छन् । नयाँ दिल्ली र मस्कोबीच शीतयुद्धदेखि नै लामो समयदेखि सम्बन्ध रहँदै आएको छ र रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो ।

तर फेब्रुअरीमा मस्कोको सेनाले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक आमनेसामने भएको भेटमा मोदीले पुटिनलाई भने, “महामहिम, मलाई थाहा छ आजको समय युद्धको लागि उपयुक्त समय होइन ।” तेल र अन्य वस्तुहरूको मूल्य वृद्धिको कारण बनेको रूसी आक्रमणबारे रूसको विपक्षमा उभिन भारत चाहेको देखिएको छैन ।


उज्बेकिस्तानको समरकन्द शहरमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा भएको भेटमा उनले लोकतन्त्र, कूटनीति र संवादको महत्वमा जोड दिएका थिए । उनीहरुबीच शान्तिको मार्गमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएकोे मोदीले बताए ।

युक्रेनमा रुसी सेनाले ठूलो युद्धभूमिको असफलताको सामना गरिरहेको बेला एससीओ शिखर सम्मेलन हुन लागेको छ र यसले पुटिनका लागि पश्चिमी प्रयासका बावजुद आफ्नो देश पूर्ण रूपमा एक्लो नभएको देखाउने अवसरको प्रतिनिधित्व गरेको छ ।

“मलाई युक्रेनको द्वन्द्वमा तपाईंको तपाईंको चिन्ता र स्थिति थाहा छ । यसलाई जतिसक्दो चाँडो अन्त्य गर्न हामी सक्दो प्रयास गर्नेछौं,” पुटिनले मोदीसँग भने । तर युक्रेनको नेतृत्वले वार्तालाई अस्वीकार गरेको र युद्धभूमिमा सैन्य माध्यमबाट आफ्नो लक्ष्य हासिल गर्न चाहेको पुटिनको दावी थियो ।

बिहीबार पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई भेटेर आफ्नो प्रमुख सहयोगी बेइजिङलाई पनि द्वन्द्वबारे ‘चिन्ता’ रहेको स्वीकारेकाे बताइएको छ ।