युक्रेनी भूभागमा भएको जनमतसङ्ग्रहमा आफूले जित हासिल गरेको रुसको दाबी



रुसी नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रमा चारवटा जनमतसङ्ग्रह सकिएका छन् । त्यहाँ भएको मतदानलाई मस्कोले थप क्षेत्रलाई आफूमा गाभ्ने आधारका रूपमा प्रयोग गर्न सक्छ । ती क्षेत्रमा मस्कोद्वारा स्थापित अधिकारीहरूले रुसमा सामेल हुने विवादित मतदानमा भाग लिनेमध्ये लगभग सबैले पूर्ण समर्थन गरेको दाबी गरिरहेका छन् ।

तर युक्रेन सरकार र उसका सहयोगीहरूले उक्त चुनावलाई ’छद्म’का रूपमा अर्थ्याउँदै त्यसको निन्दा गरेका थिए । अन्तर्राष्ट्रिय मान्यताको अभावमा निर्वाचन प्रक्रियालाई स्वतन्त्र रूपमा अनुगमन गरिएको थिएन ।


स्वघोषित तर अन्तर्राष्ट्रिय मान्यता नपाएका युक्रेनबाट टुक्रिएका डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा उक्त मतदान भएको थियो । जापोरीजा र खेअर्सनको दक्षिणी क्षेत्रका रुसी कब्जामा रहेका भागहरूमा पनि मतदान गराइएको थियो । रुसभरि छरिएर रहेका शरणार्थीहरूले पनि दर्जनौँ मतदान केन्द्रमा मतदान गर्न पाएका थिए ।

त्यस्ता मतदान केन्द्रहरू सन् २०१४ मा रुसले कब्जा गरेको दक्षिणी युक्रेनी प्रायद्वीप क्राइमियामा पनि रहेका थिए । त्यहाँको मतदानको आंशिक परिणामले रुसमा सामेल हुने पक्षमा व्यापक बहुमत देखायो । युक्रेनको लगभग १५ प्रतिशत भू–भाग समेट्ने युद्धग्रस्त क्षेत्रका ४० लाख मानिसलाई मतदान गर्न भनिएको थियो ।

डोनेट्स्क र लुहान्स्कमा क्रेमलिन समर्थक प्रशासनद्वारा सञ्चालित समाचार एजेन्सीहरूले ९९.२३ प्रतिशत मानिसले रुसमा सामेल हुने पक्षमा मतदान गरेको समाचार संप्रेषण गरिरहेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार रुसी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै चारवटा क्षेत्र आफ्नो देशमा विलय भएको घोषणा गर्नसक्ने अनुमान गरिएको छ । सन् २०१४ को मार्चमा पनि यस्तै खालको मान्यता नभएको चुनावको केही दिनपछि क्राइमिया रुसमा सामेल भएको उनले घोषणा गरेका थिए।