युक्रेनविरुद्ध सामरिक परमाणु अस्त्र प्रयोग नगर्न पुटिनलाई बाइडनको चेतावनी



अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन युद्धमा रासायनिक वा सामरिक परमाणु अस्त्रहरू प्रयोग नगर्न रुसलाई चेतावनी दिएका छन् । अमेरिकाको सीबीएस न्यूजसँग अन्तर्वार्ताका क्रममा बाइडनले त्यस्ता कदमले दोस्रो विश्वयुद्ध यता कहिल्यै नदेखिएको युद्धको रूप देखापर्ने बताएका छन् ।

त्यस्ता अस्त्रको प्रयोग भएको खण्डमा अमेरिकाले चाल्ने कदमबारे भने उनले केही बोलेनन् । राष्ट्रपति बाइडनलाई यदि पुटिनले युक्रेनमा आम विनाशकारी अस्त्र प्रयोग गर्ने सोचिरहेको भए के गर्नुहुन्छ भनी सोभिएको थियो ।


त्यसको जवाफ दिँदै बाइडनले भने,’त्यो कस्तो हुनेछ भन्ने थाहा भएको भए तपाईँलाई भन्थेँ ? अवश्य भन्ने छैन । त्यसले अरू कदम निम्त्याउनेछ । उनीहरू यसअघि कहिल्यै नभए जसरी विश्वमा अस्वीकृत हुनेछन्। र उनीहरू कुन हदसम्म जान्छन् भन्ने कुराले त्यसमा जनाइने प्रतिक्रिया निर्धारण गर्छ।’

पछिल्ला दिनमा युक्रेनले उत्तर–पूर्वी खार्किभ क्षेत्रमा ८ हजार वर्ग किलोमिटर भन्दा धेरै गुमाएको क्षेत्रफल पुनः प्राप्ति गरेको छ। युक्रेनको सफल प्रत्याक्रमणबीच पुटिनले भने त्यसले पूर्वी युक्रेनमा रुसले आफ्नो कारबाही नरोक्नेमा जोड दिएका छन् ।

गत फेब्रुअरीमा युक्रेनमा आक्रमण थालिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको परमाणु फौजलाई विशेष सतर्कतामा राखेका थिए ।

उनले प्रतिरक्षा सम्बन्धी प्रमुखहरूलाई पश्चिमा विश्वको आक्रामक अभिव्यक्तिका कारण त्यसो गरिएको बताएका थिए। परमाणु अस्त्रहरू झण्डै ८० वर्षदेखि अस्तित्वमा छन् । र धेरै देशहरूले त्यसलाई आफ्नो राष्ट्रिय सुरक्षा सुनिश्चित गर्दै सम्भावित युद्ध रोक्ने रणनीतिक उपायका रूपमा राखेको बताउने गरेका छन् ।

रुससँग अनुमानित झण्डै ५ हजार ९७७ वटा परमाणु युद्ध शीर्ष रहेको फेडरेशन अफ अमेरिकन साइन्टिस्ट्सले जनाएको छ । यद्यपि उसले त्यस्ता अस्त्रहरू प्रयोग गर्न चाहेको देखिँदैन । सामरिक परमाणु अस्त्रहरू तुलनात्मक रूपमा छोटो दूरीमा प्रयोग हुने खालका हुन्छन्।