यसवर्षको पितृपक्ष आज सकिँदै, भाेलिदेखि बडादसैँ सुरू हुँदै



महाेत्तरी । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ ।

असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ । पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन् ।


पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन (पिताको भए अष्टमी र माताको भए नवमी तिथिमा गर्नपर्ने कर्मकाण्डी विधान पनि छ) गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका गरिन्छन् । यद्यपि औँसीकै दिन पितृपक्ष समाप्त भए पनि अन्तिम श्राद्ध मातामह (मावली हजुरबा)को श्राद्ध भने असोज शुक्ल प्रतिपदामा गरिने विधान पनि रहेको बर्दिबास–२ का पण्डित महेशकुमार झाको भनाइ छ ।

दशैँ, तिहार र छठजस्ता महान् चाडबाडअघि पितृहरूलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराका कर्मकाण्डका ज्ञाता बताउँछन् । वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने कामना गरिएजस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरूलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने अर्का कर्मकाण्डी ब्राह्मण जिल्लाकै भङ्गाहा नगरपालिका–३ का बासिन्दा विष्णुप्रसाद शर्मा बताउछन् ।

हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत भोलि (असोज १० गते) बिहान १०।२३ बजे रहेको छ ।