माेरङ । मोरङको सुन्दरहरैचा नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा फाल्ने गरेको कारणले अहिले समस्या बढ्दै गएको छ ।
गर्मी याममा नजिकै रहेका बस्तीमा अव्यवस्थित रूपमा फ्यालेर थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउछन्। नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित बनेको छ ।
यस्तै वडा नं ४ मा रहेको गछिया खेला छेउ बडहरामा पनि केही वर्षदेखि फोहोर फाल्ने गरिएको छ । नगरको विराटचोक बजार, खोर्साने, सलकपुर, गोठगाउँलगायत क्षेत्रबाट निस्कने फोहोरलाई जङ्गलमा र गछिया, दुलारी, बाँसबारी, बलियाको फोहोर बडहरामा फाल्ने गरिएको छ ।
पानी परेको समयमा प्लास्टिक जन्य फोहोर बगाएर किसानको खेतबारी तथा अन्य ठाउँमा पु¥याउने गरेकाले खेतबारीको माटोसमेत प्रदूषित भई उत्पादनमा गिरावट आएर समस्या आउने गरेको सुन्दरहरैचा १० निवासी स्थानीय नगेन्द्र दाहालले बताए । उनले यो समस्या अन्त्यका लागि कुहिने तथा नकुहिने फोहोर मैला अलग-अलग छुट्याएर उपयुक्त डम्पिङ साइडको विकास गरी फोहोरलाई मोहोरमा परिणत गर्न जरुरी भएको उल्लेख गरे ।
नगरपालिकाबाट दैनिक रूपमा ट्रयाक्टर तथा टिपरले फोहोर सङ्कलन गर्दै आएका छन् । फोहोर व्यवस्थापन गर्न तत्कालीन समयमा हाल रहेको वडा नं १ को कुमारगाउँमा २ बिघा ५ कट्ठा जग्मा खरिद गरिएको थियो । उक्त जग्गामा अहिलेसम्म कुनै फोहोर व्यवस्थापनको काम भएको छैन ।
उक्त क्षेत्र अहिले कासघारीमा परिणाम भएको छ । यो जग्गा खरिदका लागि विभिन्न सङ्घसंस्थाले सहयोगसमेत गरेका थिए । सुन्दरहरैचा नगरपालिकाले हालसम्म सङ्कलन गरेको फोहोरमा कुहिने र नकुहिने फोहोर नछुट्याइ व्यवस्थापन गर्ने गरेको छ ।
सुन्दरहरैचा फोहोरमैला व्यवस्थापन समयमा नै ध्यान पुर्याउन नसके ठूलो समस्याका रूपमा रहने स्थानीय सञ्चारकर्मी बाबुराम निरौलाले बताए । उनले नगरको विभिन्न वडाबाट सङ्कलन हुने फोहोर हाल खोर्सानेको उत्तरतर्फको जङ्गलमा फाल्नु उपयुक्त नभएको जानकारी दिए। निरौलाले अब पनि सम्बन्धित निकायले ध्यान पुर्याउन नसके खोर्साने क्षेत्र लगायतमा ठूलो समस्या हुने विश्लेषण गर्न सकिने बताए ।
समयमा नै फोहोरमैलालाई वर्गीकरण गरी कुहिनेलाई मल तथा नकुहिनेलाई कच्चापदार्थमा परिणत गर्न सम्बन्धित सरोकारवालाले ध्यान पुर्याउँदै ती जमिनहरूमा भण्डारण केन्द्र निर्माण गरी दिगो फोहोरमैला व्यवस्थापन सुन्दरहरैचामा गर्न जरूरी देखिएको स्थानीयहरू बताउछन् ।
सुन्दरहरैचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या भएको तथा यसको समाधान फोहोरबाट मोहोर उत्पादन गर्ने भएकाले यसतर्फ नपाको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण भएको सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले बताए । उनले फोहोरको उचित व्यवस्थापन गर्न समय लाग्ने भएकाले मोरङको बेलबारी, केराबारी, पथरीशनिश्चरेलगायत छिमेकी पालिकाको सामूहिक पहलमा हाइवे उत्तर कसैलाई कुनै असर नपर्ने गरी फोहोरको उचित व्यवस्थापनमा पहल गर्न छलफल भएको बताए ।