मेयरकप प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकालाई



फुङलिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले हासिल गरेको छ । आज सम्पन्न भएको फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो ।

सिदिङ्वाले पाथीभरा याङ्वरक गाउँपालिकालाई २५–२१, २५–१७, २१–२५ र २५–२१ को स्कोरमा पराजित ग¥यो । यसअघि सेमिफाइनलमा पाथीभरा याङ्वरकले फुङलिङ नगरपालिकाको टिमलाई र सिदिङ्वाले सिरिजङ्गा गाउँपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।


जितसँगै सिदिङ्वाले रु दुई लाख ७५ हजार एक सयका साथ रनिङकप, मेडल प्रमाणपत्र पाएको छ । उपविजेता पाथीभरा याङ्वरक गाउँपालिका रु एक लाख ४० हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार भएको छ ।

सेमिफाइनलमा पुग्ने दुई टीम क्रमशः फुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकाले प्रत्येकले रु ४५ हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने मेयरकप रनिङ भलिबल प्रतियोगिता खेल संयोजक एवं फुङलिङ नगरपालिकाका सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले जानकारी दिए ।