मुलुकको विकासमा कर्मचारीको भूमिका महत्वपूर्णः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले १९ औँ निजामती सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए ।


उनले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने बताए । “हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो”, उनले भने, “तर कर्मचारी (तपाई)हरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।”

उनले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताए । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रुपमा हुनुपर्ने बताए ।

उनले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्ने भन्दै जनताको काम छिटोछरितो रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले सेवाग्राहीका काम कार्यगत एकता प्रणालीमार्फत हुनुपर्ने बताए ।

“ जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ”, उनले भने, “एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ । ” उनले सङ्घीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताए ।

विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उनको भनाइ रहेको छ । मुख्य सचिव शङ्करदास बैरागीले विगतका कमिकमजोरी औल्याउँदै निजामती कर्मचारी प्रशासन अगाडि बढ्नुपर्ने बताए।

“निजामती कर्मचारी तीन तहमा राष्ट्र सेवामा समर्पित हुनुपर्दछ । कसैलाई पनि अल्मलिने, ढिलो गर्ने छुट छैन”, उनले भने, “कर्मचारीतन्त्र सक्षम भएर मुलुक र जनताको सेवामा काम गर्ने हो ।”

उनले जुनस्तरमा मुलुकको विकास हुनुपर्ने हो त्यो भने हुन नसकेको भनाइ राखे । सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद श्रेष्ठले समग्र प्रशासनको सुधारका लागि निजामती कर्मचारी लागेको बताए ।