मुग्लिङ–पोखरा सडक विस्तार : तनहुँ खण्डमा भौतिक प्रगति न्यून



दमाैली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून देखिएको छ ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१।४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।


पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी) खण्डमा हालसम्म ३.४६ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । योजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार यसअवधिमा वित्तीय प्रगति २३ प्रतिशत भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा पूर्वी खण्डका लागि रु दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो । तर यस अवधिमा रु ५७ करोड ३७ लाख चार हजारमात्रै खर्च भएको छ । कुल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताए ।

योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इञ्जीनियर नारायण पौडेलले जानकारी दिए। आर्थिक वर्ष २०७८÷७९ मा यो खण्डका लागि रु एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा रु ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ ।

यो खण्डअन्तर्गत सडक दायाँबायाँतर्फका ९५ प्रतिशत रुख कटान सम्पन्न भएका छन् । तनहुँका एक सय ३८ घरटहराको मूल्याङ्कन सम्पन्न गरी मुआब्जा रकम वितरण कार्य प्रारम्भ भइसकेको पौडेलले जानकारी दिए । खैरेनीटार बजार क्षेत्र (कुम्ले खोलाबाट भिमाद जाने चोकसम्मको) बाहेक तनहुँ जिल्लाका अन्य क्षेत्रको मूल्याङ्कन सकिएको जनाइएको छ ।

सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा समस्या भएको पौडेलले बताए ।